दोस्रो टेस्ट जितेपछि दक्षिण अफ्रिकालाई सिरिज

दक्षिण अफ्रिकाले भारतीय भूमिमा टेस्ट सिरिज जितेको २५ वर्षयता पहिलो पटक हो । 

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

South Africa win the series after winning the second Test

काठमाडौँ — दक्षिण अफ्रिकाले दोस्रो टेस्टको पाँचौँ दिन बुधबार भारतलाई ४ सय ८ रनको ठूलो अन्तरले पराजित गरेको छ । यससँगै दक्षिण अफ्रिकाले दुई टेस्टको सिरिजमा निर्णायक २-० को अग्रता पनि लिएको छ ।

जितका लागि ५ सय ४९ रनको विशाल लक्ष्य पाएको भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ४० रन मात्र बनाएर अलआउट भयो । त्यसमा रवीन्द्र जडेजाले सर्वाधिक ५४ रन जोडे । दक्षिण अफ्रिकी बलरमध्ये सिमाने हारमरले ३७ रनमा ६ विकेट लिए ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ४ सय ८९ रन बनाएपछि त्यसको जवाफमा भारत २ सय १ रन मात्र बनाएर अलआउट भएको थियो । दक्षिण अफ्रिकाले भारतलाई फलो अनका लागि भने बाध्य पारेन ।

त्यसपछि पाहुना टिमले ५ विकेट गुमाएर २ सय ६० रन बनाएर आफ्नो दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । दक्षिण अफ्रिका पहिलो टेस्टमा ३० रनले विजयी रहेको थियो । दक्षिण अफ्रिकाले भारतीय भूमिमा टेस्ट सिरिज जितेको २५ वर्षयता पहिलो पटक हो । 

कान्तिपुर

Link copied successfully