आयोजक रुपन्देही क्रिकेट संघले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।
भैरहवा — प्रत्येक वर्ष यहाँ सञ्चालन हुँदै आएको शेरबहादुर सेञ्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट शुक्रबारदेखि सुरु हुने भएको छ । आयोजक रुपन्देही क्रिकेट संघले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । संघका अनुसार शुक्रबारबाट सञ्चालन हुने प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितामा रुपन्देहीका ३० विद्यालय सहभागी छन् ।
भैरहवास्थित पर्वत ज्वेलर्सका सञ्चालक विमल सेञ्चुरीले आफ्ना हजुरबुबाको स्मृतिमा प्रतियोगिता प्रायोजन गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका गरेर ३० वटा समूह सहभागी हुने खेल संयोजक उदयकुमार मल्लिकले बताए । उनकाअनुसार यसपटक ६ वटा विद्यालयको सहभागिता बढेको छ । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरु सहभागी हुन पाउने छन् ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टिमलाई पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक मल्लिकले बताए । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । हरेक वर्ष सिजनको पहिलो प्रतियोगिता विद्यालय तहको गराउँदै आएको उनले बताए ।
