दोस्रो जितले काठमान्डु गोर्खाज तेस्रो स्थानमा

काठमान्डु गोर्खाजका कप्तान करण केसीले १९ औं ओभरमा लुम्बिनीका ट्रम्पलमनलाई ४ छक्का र १ चौका प्रहार गरेपछि स्कोर प्रतिस्पर्धात्मक बनेको थियो।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Gorkhas move to third place with second win

What you should know

काठमाडौँ — कप्तान करण केसीको सानदार ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । काठमान्डुले मंगलबार लुम्बिनी लायन्समाथि २२ रनको जित निकाल्यो । 

टस हारेपछि ब्याटिङ निम्तो पाएको गोर्खाजले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २० ओभरमा ८ विकेट गुमाई १ सय ५७ रन बनायो । जबाफमा लुम्बिनी १९.१ ओभरमै १ सय ३५ रनमा अलआउट भयो ।

काठमान्डुको ४ खेलमा यो दोस्रो जित हो । यो नतिजापछि काठमान्डु तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीको भने ३ खेलमा दोस्रो हार हो । काठमान्डुबाट मिलिन्द कुमार र जेहर्राड इरसमसले २–२ विकेट लिए । मिलिन्दले ४ ओभरमा १८ र इरसमसले ४ ओभरमा २७ रन खर्चिए । करण, शाहब आलम, रशिद खान र सन्तोष यादवले १–१ विकेट लिए । 

ओपनरद्वय सन्दीप जोरा ७ र डी’ आरसी शट ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २२ रनमा आउट भए । दुवैलाई मिलिन्दले आउट गरे । इरसमसले कप्तान रोहित पौडेललाई ११ रनमा एबलीडब्लू आउट गरे । गुलबद्दिन नैब पनि ११ रनमै शाहबको बलमा आउट भए ।

दिलीप नाथले २५ रन बनाए । उनले ३३ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे । शेर मल्लले १८ बल खेलेर २७ रन बनाए । उनले शाहबको बलमा लगातार ३ छक्का प्रहार गरे । जेजे स्मिट ८, सुमित महर्जन शून्य, रुबेन ट्रम्पलमन ३ र अभिषेक गौतम ४ रनमा आउट भए । तिलक भण्डारी ६ रनमा अविजित रहे । 

यसअघि तल्लोक्रममा ब्याटिङ सम्हालेका करणले ११ बलमा सर्वाधिक अविजित ३४ रन बनाए । उनले १ चौका र ४ छक्का प्रहार गरे । उनले १९ औं ओभरमा नामिबियाका तीव्र गतिका बलर ट्रम्पलमनलाई ४ छक्का र १ चौका प्रहार गरेपछि गोर्खाजले उक्त ओभरमा ३१ रन जोडेको थियो । 

गोर्खाजको सुरुआत राम्रो थिएन । बेन चार्ल्सवर्थलाई पहिलो ओभरमै शेर मल्लले बोल्ड गरे । तेस्रो नम्बरमा पठाइएका रशिद खानले १० बल खेल्दै २ चौकासहित १४ रन बनाए । ओपनर आकाश त्रिपाठीले ३६ बलमा २ चौकासहित ३२ रन बनाए ।

मिलिन्द २० बलमा १ चौकासहित १७, जोहन सिम्पसन ३ बलमा ७, सन्तोष १६ बलमा २ छक्कासहित २६, इरसमस १५ बलमा २ चौकासहित १७, आदिल आलम अन्सारी ७ बलमा ४ रन बनाएर आउट भए । शाहब १ रनमा अविजित रहे । लुम्बिनीबाट शेर, कप्तान रोहित, नैब र ट्रम्पलमनले २–२ विकेट लिए । रोहितले १ ओभरमा ९, शेरले ४ ओभरमा ३३, नैबले ३ ओभरमा २० र ट्रम्पलमनले ४ ओभरमा ४३ रन खर्चेका थिए ।

दृष्टिविहीन महिला टोलीलाई १० लाख

पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटको उपविजेता बनेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले सम्मान गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली दृष्टिविहीन महिला टोलीलाई सम्मान गरिएको थियो । 

क्यान र नेपाल नेत्रहीन क्रिकेट संघका पदाधिकारी उपस्थितिमा नेपाली महिला टोलीलाई १० लाखको चेक प्रदान गरिएको थियो । श्रीलंकामा भएको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो । प्रतियोगितामा ७ राष्ट्रको सहभागिता थियो । सोमबार काठमाडौं आइपुगेको नेपाली दृष्टिविहीन महिला टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार निमन्त्रणा गरी बधाई ज्ञापन गरेकी थिइन् ।

कान्तिपुर

Link copied successfully