प्रवीरले जिते एचसीए युथ कप चेस

विजेता खेलाडीलाई अस्ट्रेलियन ग्रान्ड मास्टर डेविड स्मेर्डन र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले ट्रफी प्रदान गरे ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Praveer won the HCA Youth Cup Chess

काठमाडौँ — मातृभूमि स्कुलका प्रवीर केसीले एचसीए युथ कप ब्लिज चेसको उपाधि जितेका छन् । उनले सात चरणको प्रतिस्पर्धामा ६ अंक जोड्दै ट्रफी उचाले ।

हिमालयन चेस एकेडेमीद्वारा भएको एकदिने प्रतियोगितामा अस्ट्रेलियाका लियो स्मेर्डन दोस्रा, सात्विकमान तुलाधर तेस्रो र आरभ पौडेल चौथो भए । लियो, सात्विक र आरभले समान साढे ५ अंक जोडेपछि टाइब्रेकका आधारमा वरीयता निर्धारण गरिएको थियो ।

लियोले चौथो चरणमा प्रवीरलाई पराजित गरे । तर, छैटौं चरणमा निहाना श्रेष्ठसाग हार बेहोर्न पुगे र अन्तिम चरणमा पनि सात्विकसँग बराबरी गरे । उनी उपाधि होडमा प्रवीरभन्दा पछाडि परे । समान ५ अंक बटुलेका अनमोल राई, निहाना श्रेष्ठ र सम्भव थुलुङसँगै अरण्य तुलाधर (४.५ अंक), अरिज राई (४ अंक) र दिभान श्रेष्ठ (४ अंक) शीर्ष दसमा अटाए ।

यू–६ स्पर्धातर्फ ब्वाइजमा फेलिक्स स्मेर्डन र गर्ल्समा रुथवी सिंह विजेता भए । यू–८ तर्फ ब्वाइजमा प्रतिश झा र गर्ल्स सहर्ष क्षेत्री विजयी भए । यू–१० ब्वाइजमा आरभ श्रेष्ठ र गर्ल्समा आहना शाहले सफल पाए । विजेता खेलाडीलाई अस्ट्रेलियन ग्रान्ड मास्टर डेविड स्मेर्डन र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले ट्रफी प्रदान गरे ।

कान्तिपुर

Link copied successfully