२१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमै पूरा गर्दै नीरजको ११४ रन तथा बलरहरूको उत्कृष्ट प्रदर्शनमा साउदी अरेबियालाई सहजै पराजित गर्यो।
What you should know
काठमाडौँ — नीरजकुमार यादवको शतकपछि नेपालले एसीसी यू–१९ प्रिमियर कपमा विजयी सुरुआत गरेको छ । यूएईमा मंगलबार सुरु प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्यो ।
अजमानको करवान मैदानमा नेपालले २ सय १९ रनको लक्ष्य ३० ओभरमै पूरा गर्यो । ओपनिङ ब्याटर नीरजले ७८ बलमै शतक पूरा गरेका थिए । उनले कुल ९० बलको इनिङ्समा १ सय १४ रन बनाए । स्कोर बराबर भएको समयमा आउट भएका उनले १३ चौका र १ छक्का प्रहार गरे ।
नीरजले वंश क्षेत्रीसँग पहिलो विकेटमा ६३ र निश्चल क्षेत्रीसँग दोस्रो विकेटमा १ सय ५५ रनको साझेदारी गरेका थिए । वंशले २० बल खेली ४ चौका र १ छक्कासहित ३० रन बनाएका थिए । निश्चल ७३ बल खेली ५ चौका र १ छक्कासहित ६६ रन बनाएर आउट भए ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्ता पाएको साउदी अरेबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय १८ रन बनायो । ओपनर मोहम्मद जुबेर सुनसाराले सर्वाधिक ४८ रन बनाए । उनले ७६ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
मोहम्मद रेहान सिद्धिकी ५९ बल खेली ३ चौकासहित ४१, ओमार अहमद वाहवले ३७ बल खेली समान ३ चौका र छक्कासहित ३९, मज्दीले १४ बलमा ३ चौका र १ छक्कासहित २५, हसिर अहमद साजादले १६ र कप्तान रायन खानले १७ रन बनाए ।
नेपालका कप्तान अशोक धामीले ९ ओभरमा ३४ रन खर्चेर २ तथा दयानन्द मण्डल, सुशील रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १–१ विकेट लिए ।
