आयोजक रेडियन्ट पब्लिकको कोर्टमा बेबी एन्जलले स्किब्सलाई ३२–२७ स्कोरले पराजित गर्यो । बेबी एन्जलका यमन गिरीले १० स्कोर गरे ।
काठमाडौँ — बेबी एन्जल र केभीसी सोमबार ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा पुगेका छन् ।
आयोजक रेडियन्ट पब्लिकको कोर्टमा बेबी एन्जलले स्किब्सलाई ३२–२७ स्कोरले पराजित गर्यो । बेबी एन्जलका यमन गिरीले १० स्कोर गरे । आरोनलाल श्रेष्ठको १२ स्कोर मा केभीसीले पिपुल्स एकेडेमीलाई २५–१९ ले हरायो ।
रेडियन्ट पब्लिकले ओएसिसलाई ५४–२८ र पुष्पसदनले बालदीक्षा सदनलाई ५३–३५ स्कोरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका नन्दन बस्नेतले १२ र पुष्पसदनका सम्राट लामाले २४ स्कोर गरे ।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (ईबीए) ले पिपुल्सलाई २०–१३, केभीसीले नवीन ज्योतिलाई ११–७, विस्डमले कश्यपलाई १०–७ र ग्रिनफिल्डले सेबलाई २५–९ ले पराजित गरी सेमिफाइनलमा स्थान बनाए । ईबीएका प्रसिक श्रेष्ठले ७, केभीसीका शेरसाङ शेर्पाले ४, कश्यपका निरजले ४ र ग्रिनफिल्डका अजय मगरले ६ स्कोर बटुले ।
सिनियर गर्ल्समा नवीन ज्योतिले जेसिसलाई १४–९, रेडियन्ट पब्लिकले राराहिललाई २१–१२, स्वर्णिमले ज्ञानोदयलाई २५–९ र केभीसीले निःसर्ग वाटिकालाई १८–९ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । नवीन ज्योतिकी मन्सुन पुरीले ९, रेडियन्टकी सोनु तामाङले ९, स्वर्णिमकी ओजस्वी बोहराले ८ र केभीसीकी सिमरन पाण्डेले ११ स्कोर जोडेका थिए ।
