रोल्पा नगरपालिकाले जित्यो खुला कबड्डी  प्रतियोगिताको उपाधि

मंसिर ३ गतेदेखि आयोजना गरिएको पहिलो खुल्ला कबड्डी प्रतियोगितामा ८ टिम सहभागी थिए।

मंसिर ७, २०८२

काशीराम डाँगी

Rolpa Municipality wins the open kabaddi tournament title

काठमाडौँ — रोल्पामा आयोजना भएको चारदिने खुला कबड्डी  प्रतियोगिताको उपाधि रोल्पा नगरपालिकाले जितेको छ। जिल्ला कबड्डी संघले लिबाङमा आयोजना गरेको प्रतियोगितामा रोल्पासहित प्यूठान, दाङ, रूपन्देही लगायत जिल्लाबाट प्रतियोगी टिम सहभागी थिए।

रोल्पामा मंसिर ३ गतेदेखि आयोजना गरिएको पहिलो खुल्ला कबड्डी प्रतियोगितामा ८ टिम सहभागी थिए। रोल्पाका विभिन्न गाउँपालिकाका साथै विभिन्न जिल्लाबाट कबड्डी टिमले सहभागिता जनाएका हुन्। प्रथम उपाधि हासिल गरेको रोल्पा नगरपालिकाको टिमलाई रोल्पा नगरले सम्मान गरेको छ। दोस्रो तुलसीपुर उप-महानगरपालिका भएको थियो भने तेस्रो बुटवल उपमहानगरपालिका रूपन्देही भयो। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलाई जिल्ला कबड्डी संघ रोल्पाले नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ। प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका टिमलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिएको रोल्पा कबड्डी संघका अध्यक्ष गिरिराज रोकाले बताए ।

खेल प्रतियोगितामा बेस्ट प्लेयर अफ टुर्नामेन्टमा रोल्पा नगरपालिका सुकदेव बुढाथोकी, बेस्ट राइडर रोल्पा नगरपालिकाकै सोनु बुढा, बेस्ट डिफेन्डर रोल्पा नगरपालिकाकै तिलक सुनार, युवा प्लेयर स्पोर्ट एकेडेमी तुलसीपुर उपमहानगरका गणेश विक र अनुशासित खेलाडी बुटवल उपमहानगरपालिकाका राहुल अर्याल घोषित भएका थिए।

प्रतियोगितामा मुख्री पाहुना रोल्पा धवाङ निवासी राष्ट्रिय कबड्डी टिमका टिम क्याप्टेन घनश्याम रोकाको समेत उपस्थिति थियो। उनलाई उक्त अवसरमा प्रसंशा-पत्र प्रदान गरिएको थियो।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully