दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता

श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गर्‍यो ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Nepal runners-up in the Blind Women's T20 World Cup

What you should know

काठमाडौँ — दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गर्‍यो । यससँगै नेपाल उपविजेतामै रोकिएको हो ।

भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन र निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १४ रन मात्र बनायो । कप्तान विनिता पुन ४ रनमा रनआउट भइन् भने मनकेसी चौधरी ८ रनमा आउट भइन् ।

बी–१ ब्याटर सुष्मा तामाङले २४ बलमा ६ रन बनाइन् । विमला राईले २६ बलमा २६ रन जोडेर सरिता घिमिरेसँग मिलेर ६१ रनको साझेदारी गरेकी थिइन् । नेपालले ९५ रनमा ५ विकेट गुमायो, जहाँ इसारा माया शून्य रनमा आउट भइन् । सरिता घिमिरेले ३७ बलमा ३३ रन र विनिता सोमाईले ९ रनको योगदान दिइन् ।

भारतले ११.४ ओभरमै ३ विकेट गुमाएर १ सय १७ रन बनाउँदै सहज जित दर्ता गर्‍यो । ओपनर ए देवी २ रनमा आउट भइन् भने डी थिमबालाहाटीलाई ७ रनमा सरिता घिमिरेले रनआउट गरिन् । करुणा कुमारीले २७ बलमा ४२ रन जोड्दै भारतलाई जितको आधार बनाइन् । अन्त्यतिर पुला सुरेनले २६ बलमा ४४ रन तथा वसन्ती हास्दाले १२ रन बनाउँदै भारतलाई च्याम्पियन बनाए । 

नेपालको टिममा गीता पौडेल, विनिता पुन, विनिता सोमाई, दिल्लीसरा धमला, देवकी थापा मगर, अंगिला ढकाल, मनकेसी चौधरी, कान्ति डगौरा, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरामाया लुंगेली मगर, विमला राई र प्रतिभा राई रहेका थिए । टिम प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला र टिम म्यानेजर भगवती भट्टराई बराल थिए । प्रतियोगितामा नेपालसहित ७ राष्ट्र सहभागी थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully