जनकपुरले शनिबार एनपीएलमा विराटनगर किंग्सविरुद्ध दोस्रो खेल खेल्दा जर्सीको अगाडि भागमा होटल द किङ्सबरीको लोगो हुनेछ ।
What you should know
काठमाडौँ — च्याम्पियन जनकपुर बोल्ट्सले यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि झापा बिर्तामोडको होटल द किङ्सबरी प्रमुख प्रायोजक बनेको छ । जनकपुरले शनिबार एनपीएलमा विराटनगर किंग्सविरुद्ध दोस्रो खेल खेल्दा जर्सीको अगाडि भागमा होटल द किङ्सबरीको लोगो हुनेछ ।
बिर्तामोडस्थित होटलमै जनकपुर र होटल द किङ्सबरीबीच सम्झौता भएको छ । सम्झौतामा बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र होटलका द किङ्सबरीका कार्यकारी निर्देशक जानु धितालले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा बोल्ट्सका कप्तान अनिल साह र नामिबियाका स्टार खेलाडी जान निकोल लफ्टी–इटनको उपस्थिति रहेको थियो । उनीहरूले कार्यक्रमकै बीच मुख्य प्रायोजक होटल द किङ्सबरीको लोगो अंकित नयाँ आधिकारिक किट अनावरण गर्दै साझेदारीलाई सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए ।
बोल्ट्सका जनरल म्यानेजर खतिवडाले होटल द किङ्सबरीले देखाएको विश्वास र समर्थनप्रति गहिरो आभार व्यक्त गर्दै भने, ‘हामी उपाधि रक्षा गर्ने यात्रामा छौं, र द किङ्सबरी जस्तो उत्कृष्ट र विश्वसनीय ब्रान्डको साथ पाउनु हाम्रा लागि गर्वको विषय हो । यो सहकार्य केवल प्रायोजन होइन, यो दुवै ब्रान्डको दीर्घकालीन विकास, क्षेत्रीय पर्यटन र संयुक्त मार्केटिङ प्लेटफर्म विस्तारतर्फको महत्त्वपूर्ण कदम हो ।’
उत्कृष्ट आतिथ्य र सेवा गुणस्तरका लागि प्रदेश–१ मा चर्चित होटल द किङ्सबरीसँगको यो रणनीतिक सहकार्यले जनकपुर बोल्ट्सलाई राष्ट्रियस्तरमा थप सशक्त ब्रान्ड उपस्थिति निर्माण गर्न, खेलकुद विकासलाई प्रवर्द्धन गर्न र क्षेत्रीय पहिचानलाई उचाइमा पुर्याउन ठूलो योगदान गर्नेछ भन्ने विश्वास होटलको रहेको छ ।
पहिलो सिजनको विजेता जनकपुर यस पटक उद्घाटन खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । ६ दिनको विश्रामपछि जनकपुरले दोस्रो खेल खेल्न लागेको हो ।
