सन्तोषी र राजन गरिमा रोड रेस च्याम्पियन

ओलम्पियन धाविका सन्तोषीले निर्धारित दूरी ३४ मिनेट ५४.४ सेकेन्डमा पार गरिन् । पहिलो संस्करणमा पनि सन्तोषी विजेता भएकी थिइन् ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

Santoshi and Rajan Garima Road Race Champions

What you should know

काठमाडौँ — ओलम्पियन धाविका धादिङकी सन्तोषी श्रेष्ठ र आर्मीका धावक राजन रोकायाले शनिबार दोस्रो गरिमा रोड रेसमा उपाधि जितेका छन् । रेस १० किलोमिटर दूरीमा भएको थियो । 

ओलम्पियन धाविका सन्तोषीले निर्धारित दूरी ३४ मिनेट ५४.४ सेकेन्डमा पार गरिन् । पहिलो संस्करणमा पनि सन्तोषी विजेता भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्डमा आर्मीकी निशा मजाकोटी दोस्रो र ३६ मिनेट २१.३ सेकेन्डमा आर्मीकै सिर्जना पाण्ड्ये तेस्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे ।

राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्डसहित दोस्रो भए । आर्मीकै सञ्जय श्रेष्ठले ३० मिनेट ०५.०० सेकेन्डमा तेस्रो स्थानमा हात पारे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं भए ।

दुवैतर्फ शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

गरिमा विकास बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष ५ किमिमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोस्रो, रेवतबहादुर दाहाल तेस्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं भए ।

महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा विजयी भए । पुरुष/महिलामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार पुरस्कार जिते ।

कर्पोरेटतर्फ पुरुष ५ किमिमा ईश्वर बुढाथोकी, अनुप केसी कार्की क्षेत्री र तेजबहादुर गिरी शीर्ष तीन स्थानमा विजयी रहे । महिलामा रजिना दुलाल विजयी भइन्् । कर्पोरेट विजेताले पनि भेट्रानसरह नगद पुरस्कार पाए ।

विजेतालाईसहायक रथी दीपेन्द्र गुरुङ, गरिमाका अध्यक्ष दिलीपप्रताप खाँणलगायतले पुरस्कृत गरे । सबै दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई पुनः त्यही आएर टुंगिएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष तथा रेस डाइरेक्टर राजन खत्रीले जनाए । दौडमा १ हजार ४ सयको सहभागिता रहेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully