शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारणसभाले पारित गरेअनुसार खेलाडीले राष्ट्रका लागि पदक जितेमा ५० हजारदेखि १ लाख ५० हजारसम्म प्रदान गरिनेछ ।
काठमाडौँ — नेपालको पुरानो जिमखाना नेपाल व्यायाम मन्दिरले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने आफ्ना क्लबका खेलाडीलाई प्रोत्साहनस्वरूप डेढ लाख रुपैयाँसम्म नगद पुरस्कार दिने घोषणा गरेको छ ।
शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारणसभाले पारित गरेअनुसार खेलाडीले राष्ट्रका लागि पदक जितेमा ५० हजारदेखि १ लाख ५० हजारसम्म प्रदान गरिनेछ ।
यसअनुसार वर्ल्ड र एसियाली शारीरिक सुगठन प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ७५ हजार प्रदान गरिनेछ । दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
साधारणसभाले अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा भाग लिने पहिलो नेपाली खेलाडी तथा पूर्व मिस्टर नेपाल स्व. सरोजकुमार श्रेष्ठको स्मृतिमा पनि शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
साधारणसभाले व्यायाम मन्दिरको वार्षिक कार्यक्रम, अध्यक्ष नारायण प्रधानद्वारा प्रस्तुत कार्यपत्र, महासचिव सूर्य जोशीद्वारा प्रस्तुत प्रगति विवरण र कोषाध्यक्ष प्रशान्त श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरेको थियो ।
