थलङ स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा विजेताले १ लाख ५२ हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
ताप्लेजुङ — लिम्बू समुदायको प्रमुख पर्व चासोक तङनामको अवसरमा मंसिर १८ गतेदेखि मिक्वाखोला गाउँपालिका ४ साँवामा खुला फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
थलङ स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा विजेताले १ लाख ५२ हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिए ।
विधागत पुरस्कारतर्फ बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट प्लेयर, हाइ स्कोररले पाँच हजारका दरले पुरस्कार पाउने छन् । हरेक खेलका म्यान अफ द म्याचलाई दुई हजारका दरले पुरस्कार दिइने छ ।
जिल्लाको पर्यटकीय स्थल फुङफुङेको प्रचारका लागि र चासोक तङनाम पर्वको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, राष्ट्रिय रेफ्री तथा खेल संयोजक विके थलङ सहितको उपस्थितिमा शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराइएको हो ।
