विद्यालयस्तरबाट खेलाडी छनोट गर्न अखिल नेपाल फुटबल संघले पाल्पामा प्रतियोगिता आयोजना गरेको हो ।
पाल्पा — १४ वर्षमुनिका अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रतर्फ न्यू होराइजन मावि र छात्रातर्फ बेथल बोर्डिङ स्कुल तानसेनले उपाधि जितेको छ । छात्रतर्फ मंगलबार फाइनलमा न्यु होराइजनले देववाणी साधारण तथा संस्कृति माविलाई २–१ ले हराएर उपाधि जितेको हो ।
होराइजनका केभिन सारु र किरन पुनले गोल गरे । देववाणीका धनबहादुर सारुले एक गोल फर्काए । फाइनल म्यान अफ द म्याच किरण पुन भए । होराइजनले १५ हजार र देववाणीले ८ हजार पुरस्कार पाए । विधागत छात्रतर्फ सर्वाधिक गोलकर्ता सेन्ट कपितानियोका एलेक्स तामाङ र अदिश अधिकारी, उत्कृष्ट रक्षक होराइजनका सफलबहादुर दर्लामी, उत्कृष्ट मिडफिल्डर देववाणीका कोशिश कुमाल र उत्कृष्ट खेलाडी देववाणीका कृष्णबहादुर सिंजाली भए ।
छात्रातर्फ ९ अंक बटुलेको बेथल विजेता र ४ अंक बटुलेको प्यारागन उपविजेता भएको थियो । विजेताले १० र उपविजेताले ५ हजार पुरस्कार पाए । छात्रातर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बेथलकी शुभेच्छा गुरुङ, उकृष्ट रक्षक बेथलकै सेरिन बराल, उत्कृष्ट मिडफिल्डर प्यारागनकी निकिता राना, उत्कृष्ट गोलकिपर बेथलकै गुराँस गाहा चुनिए ।
विजेता खेलाडीलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, आयोजक पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर जंग राणा, वडाध्यक्ष प्रदीप खनाललगायतले पुरस्कृत गरे । विद्यालयस्तरबाट खेलाडी छनोट गर्न अखिल नेपाल फुटबल संघले जिल्लामा प्रतियोगिता आयोजना गरेको हो । जिल्लाबाट प्रदेशस्तरीय प्रतियोगितामा खेलाडी छनोट गरेर टिम सहभागी गराइने पाल्पा जिल्ला फुटबल संघका जिल्ला सदस्य करण चित्रकारले बताए ।
