विजेता लालीगुराँसले १० लाख र उपविजेता चित्लाङले ५ लाख रुपैयाँ पुरस्कार पाए ।
What you should know
हेटौंडा — कास्कीको लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट्स लिग फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । गौरीटार रंगशालामा मंगलबार फाइनलमा लालीगुराँसले काठमाडौंको चित्लाङ एफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराएर उपाधि जितेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरीपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा लालीगुराँसका आशिष गुरुङ, लछु थापा र सरोज गुरुङले गोल गरे । चित्लाङका शिशिर लेखीको प्रहार मात्र गोल भयो । चित्लाङका लागि पहिलो प्रहार गरेको जय गुरुङको प्रहार पोस्टमा ठोक्किएर फर्क्यो । गौरव श्रेष्ठले गरेको दोस्रो प्रहार लालीगुराँसका गोलरक्षक एन्जल श्रेष्ठले रोके । मदन स्याङ्तानको प्रहार बाहिरियो । प्लेयर अफ द म्याच लालीगुराँसका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । खेलको ५१ औं मिनेटमा चित्लाङका कृष्ण रानाभाटले रातो कार्ड पाएपछि चित्लाङ १० खेलाडीमा सीमित भएको थियो ।
विजेता लालीगुराँसले १० लाख र उपविजेता चित्लाङले ५ लाख रुपैयाँ पुरस्कार पाए । यसअघि समूह चरणमा लालीगुराँसले चित्लाङलाई ३–० ले हराएको थियो ।
लिगमा समुह ’ए’ बाट लालीगुराँस विजेता र चित्लाङ उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो । लालीगुराँसले सेमिफाइनलमा सुर्खेतको काँक्रेबिहार र चित्लाङले बाराको नवजागृतिलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेश गरेको ४ वटै टिम राष्ट्रिय लिगका लागि छनोट भएको छ ।
सर्वोत्कृष्ट खेलाडी चित्लाङका शिशिर लेखी घोषित भए । उनले ५० हजार पाए । सर्वाधिक गोलकर्ता लालीगुराँसका आशिष गुरुङ भए । उनले ४ गोल गरे । गुरुङसँगै नवजागृतिका एन्जल डंगोल र काँक्रेबिहारका अनिशविक्रम क्षेत्रीले ४–४ गोल गरेका थिए । लालीगुराँसका उत्कृष्ट गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । दुवैले २५–२५ हजार पाए ।
विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, बागमती प्रदेशका खानेपानीमन्त्री कृष्णबहादुर तामाङ, संयोजक एव एन्फाका सदस्य अध्यक्ष टीकाराम लामालगायतले पुरस्कार वितरण गरे ।
