पाल्पाका २६ विद्यालयमा पहिलो चरणमा १५ वटाका बलका दरले फिफा बल वितरण गरिने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताए ।
What you should know
पाल्पा — अखिल नेपाल फुटबल संघ एन्फाले पाल्पाका २६ विद्यालयमा ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम सुरु गरेको छ ।
फुटबललाई शिक्षा प्रणालीसँग जोड्ने पहल स्वरुप यो कार्यक्रमको सुरुवात गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्ले बताए ।
उनले फिफा फर स्कुल्स कार्यक्रम खेलकुद विकासको माध्यम मात्र नभई, भविष्यका कर्णधारहरुको शारीरिक, मानसिक र सामाजिक विकासका लागि गरिएको दीर्घकालीन लगानी भएको बताए ।
यस कार्यक्रमले खेलाडी उत्पादनमा पनि मद्दत पुग्ने तानसेनमा आयोजित कार्यक्रममा उनले बताए । स्कुलहरूका लागि फुटबल वितरण कार्यक्रम विश्वका १३७ राष्ट्रमा सञ्चालन भइसकेको उनले बताए ।
नेपालमा पनि ७७ वटै जिल्लामा कार्यक्रम विस्तार भइरहेको छ । पाल्पाका २६ विद्यालयमा पहिलो चरणमा १५ वटाका बलका दरले फिफा बल वितरण गरिने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय बिरजंग राणाले बताए ।
जिल्लाका रामपुर नगरपालिकामा ७, माथागढी ४, तानसेन नगरपालिका १५ वटा विद्यालयमा फिफा बल वितरण गरिने अध्यक्ष राणाले बताए । अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दिपक खतिवडाले फुटबलको भविष्य बलियो बनाउन सबै तहमा योजना अघि बढिरहेको बताए ।
फुटबललाई विद्यालयदेखि समुदायसम्म विस्तार गर्न आवश्यक पहल गरेको बताउँदै बालबालिकामा खेलप्रति लगाव र अनुशासन निर्माण गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए ।
फिफा बल वितरण कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले युवा विद्यार्थी खेलाडीहरूमा उत्साह थप्ने उद्देश्यले गरिएको कार्यक्रम महत्वपूर्ण हुने बताए ।
जिल्लाका विद्यालयहरुमा पुगेर खेलकुद शिक्षकलाईसमेत फुटबल खेलाउने विधिबारे प्रशिक्षण दिएको पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष मनोज लिगलले बताए ।
भविष्यमा राष्ट्रिय फुटबल टोली निमार्णका लागि यो कार्यक्रमले मद्दत गर्ने अपेक्षा गरिएको उनले बताए । अभिभावकले समेत सहयोगी भूमिका निर्वाह गर्ने भएकाले अहिलेका बालबालिकाले राम्रो अवसर पाउनले पाल्पा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष प्रज्वल राज शाक्यले बताए ।
विद्यार्थी जीवनबाटै यस्ता कार्यक्रममा सहभागी हुँदा बालबालिकामा फुटबलप्रतिको आकर्षण बढ्दै जाने उनले बताए । खेलप्रतिको लगावले फुटबलका लागि नयाँ पुस्ता तयार पार्न योगदान गर्ने पाल्पा जिल्ला फुटबल संघका सदस्य करण चित्रकारले बताए ।
ग्रासरुटको फुटबल विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए । यो कार्यक्रमले फुटवलसम्बन्धी ज्ञान मात्र नभई टिमवर्क, अनुशासन र लगाव लगायत विषयमासमेत ध्यान दिने एन्फाले जनाएको छ ।
