बास्केटबलमा स्किब्स र राइजिङ स्टार विजयी

स्किब्सले पिपुल्स एकेडेमीलाई २२–२० स्कोरले पराजित गर्‍यो ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Skibbs and Rising Star win in basketball

काठमाडौँ — स्किब्स र राइजिङ स्टारले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।

स्किब्सले पिपुल्स एकेडेमीलाई २२–२० स्कोरले पराजित गर्‍यो । स्किब्सका सोहन ठकुरीले १३ स्कोर गरे । रिजन थापाको ६ स्कोरमा राइजिङ स्टारले आयोजक रेडियन्ट पब्लिक ‘बी’ माथि २४–९ को जित पायो ।

सोही स्पर्धामा विस्डमले एलेन मेमोरियललाई २०–९ र केभीसीले श्री नवीन ज्योतिलाई २८–१७ ले हराए । विस्डमका सौगातले १० र केभीसीका आरोनलाल श्रेष्ठले १५ स्कोर जोडे ।

जुनियर ब्वाइजमा नवीन ज्योतिले गोल्डेन फ्लावरलाई १३–५ तथा एआईले केभीसीलाई ६–२ ले पन्छाए । नवीन ज्योतिका युनिकेश तामाङ ४ र केभीसीका आरुस बुढाथोकीले ४–४ स्कोर गरे ।

स्युचारटारस्थित आयोजक रेडियन्टको कोर्टमा भएको सिनियर गर्ल्सको प्रतिस्पर्धामा गोल्डेन फ्लावरले केभसीलाई २४–७ तथा नवीन ज्योतिले न्यु जेनिथलाई २१–१० ले पराजित गरे । फ्लावरकी सिमरन पाण्डेले १२ रनवीन ज्योतिकी अविना दानीले १० स्कोर गरे ।

प्रतियोगिताको रेडियन्टका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंह कुँवर, नागर्जुन नगरपालिका वडा ९ का सदस्यद्वय लक्ष्मण बुढाथोकी र राजकुमार भट्टराई तथा प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । मंसिर १० सम्म चल्ने स्पर्धाको सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा १२–१२ टिम सहभागी छन् ।

कान्तिपुर

Link copied successfully