डडेल्धुरामा खेलकुद पूर्वाधार निर्माण तीव्र

डडेल्धुराका गन्यापधुरा, आलिताल, अमरगढी, अजयमेरु, परशुराम, नवदुर्गा र भागेश्वर गाउँपालिकामा विभिन्न चरणमा खेल मैदानको काम तीव्र ढंगले अघि बढेको छ ।

मंसिर १, २०८२

तर्कराज भट्ट

Construction of sports infrastructure intensifies in Dadeldhura

What you should know

डडेल्धुरा — जिल्लाका विभिन्न स्थानीय तहहरूले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै खेल मैदान निर्माण, विस्तार र स्तरोन्नतिको काम अघि बढाएका छन् । गन्यापधुरा, आलिताल, अमरगढी, अजयमेरु, परशुराम, नवदुर्गा र भागेश्वर गाउँपालिकामा विभिन्न चरणमा खेल मैदानको काम तीव्र ढंगले अघि बढेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा खेल मैदान निर्माणका धेरै योजना भए पनि केही आयोजना भने अधुरै छन् । नगरको वडा नं. ५ मा उग्रतारा खेल मैदान निर्माणका लागि सघन सहरी विकास कार्यालय डोटीले बजेट छुट्याएको भए पनि काम सुरु हुन नसकेको नगरपालिकाका अधिकृत टंकप्रसाद पन्तले बताए । संघीय सरकारले भलिया खेल मैदानका लागि छुट्याएको तीन करोड रुपैयाँ पनि उपयोगविहीन अवस्थामा छ ।

भलिया खेलमैदान गत वर्ष प्रदेश सरकारले ३० लाखको अनुदानमा निर्माण गरिसकेकाले यो वर्ष भलिया खेल मैदानकै लागि आएको बजेट टुँडिखेलको स्तरोन्नतिमा उपयोग गर्ने विचार गरिएको पन्तले बताए । टुँडिखेल नेपाली सेनाको स्वामित्वमा भएकाले समन्वय प्रक्रियाका लागि सेनालाई पत्र पठाइएको उनले जानकारी दिए । सदरमुकाममै पर्याप्त खेल मैदान नहुँदा जिल्ला स्तरका खेलकुदका गतिविधि गर्न समस्या हुँदै आएको छ । 

परशुराम नगरपालिकास्थित वडा नं. ४ मा ‘कटालपोखरी खेलमैदान’ निर्माण कार्य अघि बढिरहेको छ । प्रदेश सरकारले एक करोडभन्दा बढी रकम विनियोजन गरेको यो मैदानले स्थानीय युवालाई प्रशिक्षण तथा प्रतियोगिता सञ्चालनमा सहज बनाउने अपेक्षा गरिएको नगरपालिकाका सबइन्जिनियर महेशराज भट्टले बताए । यो बाहेक नगरपालिकामा रहेको पुरानो परशुराम रंगमैदान र त्यससँगै रहेको कवर्ड हलमा वर्षौंदेखि विभिन्न खेलकुद कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

गन्यापधुरा गाउँपालिकाले वडा नं. २ मा पालिकास्तरीय खेलमैदानको निर्माण अन्तिम चरणमा पुगेको छ । करिब एक करोड रुपैयाँ लागत अनुमान गरिएको मैदान क्रिकेट, फुटबल र एथलेटिक्सका लागि उपयुक्त हुने गरी बनाइँदैछ । गाउँपालिकाका प्रवक्ता चक्रबहादुर देउवाका अनुसार यो वर्षदेखि सो मैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । वडा नं. ४ मा ‘जेवला खेलमैदान’का लागि संघीय सरकारले तीन करोड रुपैयाँ विनियोजन गरे पनि काम सुरु हुन सकेको छैन । 

आलिताल गाउँपालिकाको वडा नं. ८ मा सुनखोला खेलमैदान निर्माण भई सञ्चालनमा आइसकेको छ । करिब ९० लाख रुपैयाँको लागतमा बनेको मैदान विद्यालयस्तरका प्रतियोगिता, पालिकास्तरका कार्यक्रम र फुटबल, भलिबल तथा क्रिकेट खेल सञ्चालनका लागि प्रयोग भइरहेको गाउँपालिकाका इन्जिनियर टेकबहादुर रानाले बताए । 

अजयमेरु गाउँपालिकाले विगतमा अजयमेरु–३ चनबेताल क्षेत्रमा ठूलो खेलमैदान निर्माण गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाका अनुसार वडा नं. १ को पाली क्षेत्रमा २०–२५ लाख रुपैयाँमा अर्को मैदान निर्माण गर्ने तयारी छ । वडा नं. २ को चमडामा रहेको खेलमैदान भने निर्माण सम्पन्न भई पालिकास्तरका गतिविधि सञ्चालन भइरहेका छन् । 

नवदुर्गा गाउँपालिकामा रहेका पाँचै वडामा कम्तीमा एउटा खेलमैदान सञ्चालनमा रहेको गाउँपालिकाका नायव सुब्बा पुष्पराज जोशीले बताए । संघीय सरकारको एक करोड रुपैयाँको समपूरक अनुदानमा वडा नं. १ को कोटेलीमा पालिका स्तरको खेलमैदान निर्माण गरिएको र अब प्यारापिट निर्माण मात्र बाँकी रहेको उनले बताए । उनले कोटेलीको खेलमैदानमा विभिन्न जिल्ला स्तरीय खेलहरू हुँदै आएको बताए । 

भागेश्वर गाउँपालिकामा पनि दुई ठाउँमा खेलमैदान निर्माण भएका छन् । गाउँपालिकाका योजना शाखा प्रमुख प्रेमसिंह घोटाका अनुसार वडा नं. ३ को बोगटामा १३ लाख रुपैयाँमा खेलमैदान निर्माण गरिएको छ । प्रदेश सरकारको बजेटमा २०७७/७८ मा वडा नं. ४ को श्रीकोटमा समेत खेलमैदान निर्माण भइ सञ्चालनमा रहेको छ । 

तर्कराज

Link copied successfully