दसौं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा थपिँदै खेल पूर्वाधार

राष्ट्रिय प्रतियोगिताका ३६ मध्ये २४ खेल कर्णालीमा खेलाउन सकिने, १३ वटा सुर्खेतमा र ११ वटा खेल अन्य जिल्लामा खेलाउने प्रदेश सरकारको तयारी ।

कार्तिक ३०, २०८२

कृष्णप्रसाद गौतम

Sports infrastructure being added to Karnali for the 10th National Games

सुर्खेत — रुकुम पश्चिमको मुसीकोट नगरपालिका—१ बराहटाकुरास्थित कवर्डहलमा दैनिकजसो व्याडमिन्टन, कराते, तेक्वान्दोलगायत खेलहरू सञ्चालन भइरहेको छ । एक वर्षको अवधिमा झण्डै २० वटा जिल्लास्तरीय प्रतियोगिता पनि भए ।

‘यातायातको सहज पहुँच, बसोबासको राम्रो व्यवस्था र आधुनिक सुविधासहितको कवर्डल भएकाले कम्तीमा २/३ वटा राष्ट्रिय खेलकुद यही गर्न सकिने अवस्था छ,’ जिल्ला व्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले भने, ‘दैनिकजसो अभ्यास खेल भइरहेको छ, खेलाडी पनि राष्ट्रिय खेलका लागि उत्साही छन् ।’ 

कवर्डहलमा राष्ट्रिय खेलकुद परिषद्को ७४ लाख, संसद क्षेत्र विकास कोषको २० लाख, मुसीकोट नगरपालिकाको करिब १० लाख र अन्य संघसंस्थाको गरी झण्डै डेढ करोड लगानी भइसकेको छ । उनका अनुसार सोलार लाइट, विद्युत्, म्याट, कुलरलगायत सुविधासहित कवर्डहल दुई कोर्टको छ ।  

जुम्ला, कालीकोट, दैलेख र सल्यानका कवर्ड हलहरूमा पनि दैनिकजसो इन्डोर अभ्यास खेल र प्रशिक्षण भइरहेका छन् । ती कवर्डहलमा दुई वर्षयता प्रदेश सरकारले झण्डै १० करोड रुपैयाँ खर्च गरिसकेको छ भने स्थानीय तहले पनि साझेदारी गरेका छन् । ‘पूर्वाधार अभावमै पनि खेलाडीहरूले अभ्यास खेल खेल्न छाडेका छैनन,’ सल्यानका भलिबल खेलाडी रेशम घर्तीले भने, ‘दसौं राष्ट्रियमा घरेलु मैदानको सदुपयोग गर्दै कर्णालीले राम्रो उपस्थिति जनाउनेछ ।’

राष्ट्रिय प्रतियोगिताका लागि पूर्वाधार तयारी अवस्थामै रहेको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमालले बताए । उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माण र खेल गतिविधि सञ्चालन गर्न झण्डै २८ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय प्रतियोगिताका ३६ मध्ये २४ खेल कर्णालीमा खेलाउन सकिने अवस्था रहेको उनले बताए । त्यसमध्ये १३ वटा सुर्खेतमा र ११ वटा खेल अन्य जिल्लामा खेलाउने प्रदेश सरकारको तयारी रहेको उनको भनाइ छ ।

‘सुटिङ, साइक्लिङलगायतका १२ खेल लुम्बिनी र सुदूरपश्चिमका रंगशालामा पनि खेलाउन सकिएला,’ उनले भने, ‘सबै जिल्लाहरूमा कवर्डहल तयारी अवस्थामै छन्, तिनलाई सामान्य स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन सकिने अवस्था छ, जसको काम १/२ महिनामै सकिन्छ ।’ 

क्रिकेट संघ रुकुम पश्चिमका सचिव मनिष खड्काले राष्ट्रिय प्रतियोगिता समयमै नहुँदा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको बताए । ‘संघीय सरकारले हेलचक्राई गरेर राष्ट्रिय खेलकुद पटकपटक सारिरहेको छ, अब बिनाशर्त फागुनमै राष्ट्रिय खेलकुद हुनुपर्छ,’ उनले भने, ‘यहाँका मेलापर्वमा पनि भलिबल, क्रिकेट, फुटबल प्रतियोगिता सञ्चालन हुँदा खेलाडी उत्साही छन्, खेलाडीको उत्साह र नियमित अभ्यासका कारण कर्णालीले यसपालि राम्रो नतिजा हात पार्ने देखिन्छ ।’

उनले चौरजहारी, धैरेनीचौर र पानढुंगा रंगशाला बजेट अभावका कारण अलपत्र हुँदा खेलाडीले क्रिकेट र फुटबलका खेलाडी भने अभ्यास खेलकुदबाट वञ्चित भएको गुनासो गरे । उनका अनुसार पछिल्लो समय पूर्वाधार अभावमै पनि दुर्गममा पनि राम्रा खेलाडी उत्पादन भइरहेका छन् । रुकुम पश्चिमका अर्जुन घर्ती क्रिकेटको राष्ट्रिय टिममा समावेश छन् भने अरविन घर्ती अन्डर नाइन्टिनको क्लोज क्याम्पमा बसिसकेका छन् । अर्जुन कर्णाली प्रदेशका इमरजिङ खेलाडीसमेत हुन् ।  

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल कर्णाली प्रदेश रंगशाला पनि प्रतियोगिता सञ्चालनको तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले बताए । उनका अनुसार करिब ९९ प्रतिशत पूरा भइसकेको रंगशालामा १० हजार दर्शक अट्नेछन् भने ‘फिफा मापदण्ड’ अनुसार निर्माण गरिएको फुटबलसहित १६ वटा खेल खेलाउन सकिन्छ ।

भीभीआइपी र भीआईपी प्यारापिटमा ४ हजार दर्शक बसेर हेर्न मिल्नेगरि रंगशाला बनाइएको उनले जानकारी दिए । ‘अब सामान्य मर्मतसम्भार र सरसफाइको काम मात्र बाँकी भएकाले एक महिनाभित्र रंगशाला हस्तान्तरण हुन्छ,’ उनले भने, ‘अहिले दसौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधारतर्फ आयोजक प्रदेशका तर्फबाट गर्नुपर्ने तयारी पूरा भइसकेका छन् ।’ 

मन्त्रालयका अनुसार प्रदेश रंगशालमा एथलेटिक्सका लागि ८ लेनको ४ सय मिटर ट्रयाक निर्माण भएको छ । पौडीका लागि स्वीमिङ पुल बनिसकेको छ भने बास्केटबल, भलिबललगायतका खेलका लागि आउटडोर र इन्डोर कोर्ट बनाइएको छ । रंगशाला परिसरको कभर्ड हलमा पनि झण्डै १ हजार दर्शक अट्ने सुविधा छ । उनका अनुसार बक्सिङ, तेक्वान्दो, उसु, कराँते, ब्याडमिन्टनलगायत खेल पनि कवर्ड हलमा सञ्चालन गर्न सकिन्छ ।

९ बिगाह क्षेत्रफलमा फैलिएको रंगशालाको २०७८ मंसिरदेखि निर्माण थालिएको थियो । अहिलेसम्म झण्डै डेढ अर्व रुपैयाँ खर्च भइसकेको रंगशालाका लागि एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँमा एमएसिजिएसएल जेभीले सम्झौता गरेको छ । अब ठेकेदार कम्पनीलाई करिब ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जसका लागि साढे ९ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

सुर्खेतमा चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको छ । ती पूर्वाधारका लागि प्रदेश सरकारले झण्डै चार करोड रुपैयाँ लगानी गरेको छ । हुम्लामा करिब ७१ करोड रुपैयाँमा हक्की मैदानको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय खेलकुदका लागि आयोजक प्रदेशका तर्फबाट पूर्वाधारसहित बसोबास, स्वास्थ्य, सुरक्षा र स्थानीय यातायातको व्यवस्थापन गर्न अहिले पनि तयारी अवस्थामै रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । उनका अनुसार वीरेन्द्रनगरका होटलहरूमा दैनिक ३ हजार ५ सयको हाराहारीमा खेलाडीको बसोबासको व्यवस्थापन गर्न सकिन्छ भने राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रदेश सरकारले रंगशाला र खेलमैदान आसपासमा सडकलगायत पूर्वाधारमा झण्डै २५ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully