जेसन रोय पोखराबाट खेल्ने

कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखराबाट विदेशी खेलाडीमा रोय र निसमसहित वेस्ट इन्डिजका रेमन रेइफर, इंग्ल्यान्डका एडम रोसिङ्टन र ड्यान डाउथवेटले खेल्ने छन् ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Jason Roy to play for Pokhara

काठमाडौँ — इंग्ल्यान्डका विश्वकप विजेता ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । पोखराले शनिबार सामाजिक सञ्जालबाट रोयलाई अनुबन्धित गरेको घोषणा गरेको थियो ।

३५ वर्षे ओपनिङ ब्याटर रोयले इंग्ल्यान्डबाट ५ टेस्ट, १ सय १६ एकदिवसीय अन्तर्राष्ट्रिय र ६४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै ६ हजार रन बनाएका छन् । सन् २०२३ को मार्चमा बंगलादेशविरुद्ध चित्तागोङमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेयता उनले इंग्ल्यान्डबाट खेलेका छैनन ।

इंग्ल्यान्डले घरेलु मैदानमा सन् २०१९ को एकदिवसीय विश्वकप जित्दाका उनी प्रमुख खेलाडी हुन् । अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा उनले ६५ बलमा ९ चौका र ५ छक्कासहित ८५ रन बनाएका थिए । न्युजिल्यान्डविरुद्ध फाइनलमा उनले १७ रनमात्र बनाउन सकेका थिए । सोही फाइनल खेलेका न्युजिल्यान्डका जिम्मी निसमलाई पोखराले अघिल्लो दिन अनुबन्ध गरेको थियो ।

कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखराबाट विदेशी खेलाडीमा रोय र निसमसहित वेस्ट इन्डिजका रेमन रेइफर, इंग्ल्यान्डका एडम रोसिङ्टन र ड्यान डाउथवेटले खेल्ने छन् । रोयले सबैखाले ट्वान्टी–२० मा ४ सय १२ खेलमा १० हजार ५ सयभन्दा बढी रन बनाएका छन् । उनको स्ट्राइकरेट झन्डै १ सय ४० रहेको छ ।

कान्तिपुर

Link copied successfully