एन्फा प्रेसिडेन्ट लिग : लालीगुराँस र चित्लाङ फाइनलमा

हेटौंडाको गौरीटार रंगशालामा भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टोली फाइनल प्रवेश गरेका हुन् ।

कार्तिक ३०, २०८२

प्रताप विष्ट

ANFA President's League: Laligurans and Chitlang in the finals

हेटौंडा — कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिगको फाइनल प्रवेश गरेको छ ।

आइतबार हेटौंडाको गौरीटार रंगशालामा भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टोली फाइनल प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २–० गोलले हरायो । लालीगुराँसका लागि मुकुन्द कुमार निउरले २० औं र राम थापाले ९२ औं मिनेटमा गोल गरे । निउर प्लेयर अफ दि म्याच भए । 

यसैगरी दोस्रो सेमिफाइनलमा चित्लाङले बाराको नवजागृतिलाई सडनडेथमा ९–८ गोलले हरायो । निर्धारित खेल समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरीपछि खेलको नतिजा सडनडेथबाट लिएको हो । प्लेयर अफ दि म्याच चित्लाङका गोलरक्षक विशाल केसी घोषित भए । उनले दुई प्रहार रोके । 

सेमिफाइनल प्रवेश गरेका ४ वटै टिम राष्ट्रिय लिगको लागि छनौट भइसकेका छन् । लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ बीच मंसिर २ गते मंगलबार प्रतिस्पर्धा हुनेछ । विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully