लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसको आयोजनामा भ्याली पब्लिक तेस्रो, करिना तामाङ सर्वोत्कृष्ट खेलाडी र मिन्जल लामा उच्च गोलकर्ता बने ।
काठमाडौँ — चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले जित्न सफल भएको छ। लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको सो फुटसल प्रतियोगिताको फाइनल खेलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाई निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुट आउटमा हराउँदै उपाधि चुमेको हो।
कुल १७ वटा विद्यालयहरूले भाग लिएको सो प्रतियोगितामा भ्याली पब्लिक स्कुल तेस्रो र विश्वामित्र गणेश माध्यमिक विद्यालय चौथो भए।
कात्तिक २४ देखि सुरु भई कात्तिक २६ गते सम्पन्न भएको सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी करिना तामाङ भइन् भने उच्च गोलकर्ता मिन्जल लामा बन्न सफल भइन्।
सो प्रतियोगितामा विजयी खेलाडी एवं विद्यालयहरूलाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकी अध्यक्ष सृष्टि बज्राचार्य, डिस्ट्रिक्ट चिफ स्पोर्ट्स तथा रोड सेफ्टीका लायन दिप्रश शाक्यले ट्रफी, मेडल तथा प्रमाणपत्रका साथै स्कुल ब्याग, स्टेशनरी, केड कम्पनी द्वारा प्राप्त उपहार सहित विभिन्न सामग्रीहरू प्रदान गरेका थिए।
महिलाहरूलाई खेलकुदमा सहभागी गराएर उनीहरूमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने र महिला सशक्तीकरणमा योगदान गर्ने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।
