जनकपुर बोल्ट्स र हेटौंडा कलेज म्यानेजमेन्टबीच यस वर्ष पनि सहकार्य

फ्रेन्चाइज टोली जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा संयुक्त रूपमा हस्ताक्षर गर्दै यस वर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् ।

कार्तिक २८, २०८२

सुवास विडारी

Janakpur Bolts and Hetauda College Management to collaborate again this year

मकवानपुर — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेसबीच यस वर्ष पनि सहकार्य हुने भएको छ ।

फ्रेन्चाइज टोली जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा संयुक्त रूपमा हस्ताक्षर गर्दै यस वर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका प्रिन्सिपलले सम्झौतामा हस्ताक्षर गर्दै क्रिकेट खेलको विकास र शिक्षामा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

सम्झौताअनुसार कलेजले करिब २५ लाख रुपैयाँबराबरको सहयोग गर्ने बुझिएको छ । क्लबका खेलाडीले प्रयोग गर्ने हेलमेट, क्याप र ह्याडसमा म्यानेजमेन्टको लोगो प्रयोग हुनेछ ।

जनकपुरका कप्तान अनिल साह र ब्याटर शुभ कंसाकार यसै कलेजमा अध्ययन गरेका कारण सम्झौतालाई नवीकरण गरिएको प्रिन्सिपल जोशीले जानकारी दिए । ‘म्यानेजमेन्टले लामो समयदेखि खेलकुदको क्षेत्रमा लगानी गरिरहेको छ । हामी जनकपुरसँग जोडिन पाउँदा असाध्यै खुसी छौं,’ प्रिन्सिपल जोशीले भने ।

क्लबका सहलगानीकर्ता सिग्देलले यस वर्ष उपाधि रक्षा गर्ने अभियानका साथ टोली तयार पारेको दाबी गरे । यस वर्षको एनपीएल मंसिर १ गतेबाट काठमाडौंमा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको दोस्रो संस्करण फ्ल्डलाइटमा खेलाउने तयारी भइरहेको छ ।  

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully