त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान सकियो

एउटा पोलमा एमिङ (बत्तीको फोकस मिलाउने) र बत्तिको प्रकाशको परीक्षणको काम बाँकी रहेको प्रोजेक्ट म्यानेजर शाहले बताए ।

कार्तिक २८, २०८२

विवेक पोख्रेल

Floodlight installation completed at TU Cricket Ground

What you should know

काठमाडौँ — त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फ्लडलाइट जडानको काम सकिएको छ । निर्माण कम्पनी विशन–ईश्वरी जोइन्ट भेन्चर ललितपुरका प्रोजेक्ट म्यानेजर सौरभ शाहकाअनुसार मैदानमा राखिएका ६ वटा पोलमा नै फ्लडलाइट जडान सकिएको हो । 

एउटा पोलमा एमिङ (बत्तीको फोकस मिलाउने) र बत्तिको प्रकाशको परीक्षणको काम बाँकी रहेको प्रोजेक्ट म्यानेजर शाहले बताए । ‘भोलि एमिङ र साँझ बत्तिको परीक्षणको काम सकेर हामी हस्तान्तरण गछौं,’ उनले भने, ‘हामी आज सबै बत्ती बालेर धमाधम काम गर्दैछौं ।’

एउटा पोलमा ७० वटा लाइट गरेर सबै पोलमा ४२० लाइट जडान भएका छन् । कुनको प्रकाश कहाँ पर्छ भनेर मैदानभर नै स–साना झन्डाको चिह्न बनाएर एमिङ र प्रकाशको काम हुँदै छ ।अहिलेको अवस्थामा कम्पनीको अनुसार ९५ प्रतिशतभन्दा बढी काम भएको छ  । अब ५ प्रतिशत जति बाँकी छ । भारतबाट पनि कामदार ल्याएर सिफ्टअनुसार यस कामका लागि डेढसयभन्दा बढी कामदार खटिएका छन् । शुक्रबार एकै दिन कम्पनीले १० प्रतिशत काम सकेको हो ।    

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ । मंसिर १ देखि एनपीएलको दोस्रो संस्करण हुँदै छ ।

यदि बाँकी ५ प्रतिशत काम पनि समयमा नै सकियो भने नेपालमा पहिलो पटक फ्लडलाइटमा फ्रेन्चाइज क्रिकेट हुनेछ ।

त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर क्यानले यस मैदानमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully