सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स  च्याम्पियन

प्रतियोगितामा छात्रतर्फ सिद्धार्थका युवराज विक र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्सको करिष्मा पासीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरे।

कार्तिक २७, २०८२

रुपा गहतराज

Siddhartha Vidya Sadan and Nepalgunj St. Xaviers are champions

What you should know

नेपालगन्ज — सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल (छात्रा) एन्फा यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा बिहीबार भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले र नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्यान्ड हाइस्कुललाई १–० ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा गोल गरे । टोलीका लेखराज भारतीले ४१औं मिनेटमा गोल गरेका थिए । कोहलपुर बागेश्वरीका आशिष बलमे सुरुआतको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए  । तर बागेश्वरीले अग्रतालाई धेरै बेरसम्म जोगाउन सकेन । त्यस्तै खेलको २०औं मिनेटमा सिद्धार्थका नविन रोकाले रातो कार्ड पाएर मैदानबाहिर जानु परेको थियो । बागेश्वरीका खेलाडीले डिबक्समा बल अगाडि बढाइरहेका बेला अन्तिम डिफेन्सका रूपमा रहेका नविनले विपक्षी टिमका खेलाडीलाई हातले रोकेर लडाएपछि रेफ्री अमर घलेले रातो कार्ड देखाएका थिए ।

छात्रातर्फका फाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्यान्ड हाइस्कुललाई १–० ले हराउँदै च्याम्पियन बन्यो । नेपालगन्ज सेन्ट जेभियर्सका लागि कप्तान लक्ष्मी बुढामगरले ४६औं मिनेटमा गरेको गोल फाइनल खेलको निर्णायक बन्यो । प्रतियोगितामा छात्रतर्फ सिद्धार्थका युवराज विक र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्सको करिष्मा पासीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरे।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी,  आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द, उपाध्यक्ष रोजी सिंह, महासचिव नगिना श्रेष्ठ, नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, फुटबलका पूर्वराष्ट्रिय खेलाडी गोविन्दप्रसाद श्रेष्ठ, किशोरजंग राणालगायतले  पुरस्कृत गरेका थिए ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बाँकेबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न एन्फा यू–१४ फुटबल प्रतियोगिता महत्त्वपूर्ण सावित हुने बताए। उनले भने,‘फुटबल संघ समाजसँग जोडिएर खेलको विकासमा योजना बनाएर काम गरिरहेको छ । हामीले ग्रासरुटदेखि लिएर राष्ट्रिय स्तरका प्रतियोगिता, प्रशिक्षणजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यू–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए ।बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा गत भदौ २० गते सुरु भएको थियो । जेनजी आन्दोलनका कारण प्रतियोगिता बीचमै रोकिएको थियो ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully