वडा ११, वडा ४, वडा ३ पनि आ-आफ्नो खेल जितेर अन्तिम आठमा पुगे ।
काठमाडौँ — गत विजेता वडा १६ ले वडा २० लाई ३–० ले हराएर प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ । वडा ११, वडा ४, वडा ३ पनि आ-आफ्नो खेल जितेर अन्तिम आठमा पुगे ।
प्रतियोगिताअन्तर्गत बुधबार वडा १६ ले वडा २० लाई ३–० ले हरायो । सो खेलमा सुबिल श्रेष्ठले ह्याट्रिक गरे । सुबिल नै म्यान अफ द म्याच घोषित भए ।
यसैगरी वडा ११ ले वडा ५ लाई ३–१ ले पराजित गर्यो । विजयी टिमका लागि विराज महर्जनले दुई तथा शंख आलेले एक गोल गरे । विराज म्यान अफ द म्याच चुनिए । वडा ४ ले क्वाटरफाइनलमा स्थान बनाउन वडा ८ लाई २–० ले निराश पार्यो । वडा ४ का लागि प्रसिद्ध मगर र म्यान अफ दि म्याच सुविन थापा मगरले गोल गरे ।
यसैगरी वडा ३ ले वडा २६ को चुनौती ३–२ ले पन्छायो । वडा ३ का लागि रोसिस्की शाही, अमृत र आर्यन शर्माले गोल गरे । अमृतले आत्मघाती गोल पनि गरेका थिए । वडा २६ का लागि नितेशले गोल गरे ।
बिहीबार पहिलो क्वाटरफाइनलमा वडा १३ ले वडा २४ को सामना गर्नेछ । सोही दिन वडा १४ ले वडा ६, वडा ४ ले वडा ३ तथा वडा ११ ले वडा १६ विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
