मंसिर १ देखि यस सिजनको एनपीएल सुरु हुँदै छ । तर प्रतियोगिता हुन ५ दिन बाँकी रहेको अवस्थामा फ्लडलाइट जडानको काम भने अझै सकिएको छैन ।
What you should know
काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ ।
मंसिर १ देखि यस सिजनको एनपीएल सुरु हुँदै छ । तर प्रतियोगिता हुन ५ दिन बाँकी रहेको अवस्थामा फ्लडलाइट जडानको काम भने अझै सकिएको छैन । फ्लडलाइट जडानको जिम्मा लिएको ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रतिनिधि सौरभ शाहका अनुसार तीनवटा पोलमा लाइट (बत्ती) हाल्ने र सबै पोलमा परीक्षणको काम बाँकी छ । मैदानमा राखिएका ६ वटा पोलमा फ्लडलाइट जडान हुँदै छ ।
‘एउटा पोलमा ७० वटा लाइट जडान गर्नुपर्छ । सबै पोलमा गरी ४२० लाइट जडान हुन्छ,’ शाहले भने, ‘तीन पोलमा बत्ती जडानको काम सकिएको छ । १४० वटा बत्ती जोड्ने काम बाँकी नै छ ।’ त्यसमध्ये एउटा पोलमा बत्ती जडानको काम मंगलबारसम्म सुरु भएकै छैन । एउटा पोलमा २० वटा मात्र जोडिएको छ भने बाँकी एउटा पोलमा २० वटा बत्ती जोड्ने काम बाँकी छ ।
‘मंगलबारदेखि एउटा पोलमा ४ जनाका दरमा कामदार खटिएका छन्,’ शाहले सुनाए, ‘भारतबाट पनि कामदार मगाएर खटाएका छौं । सबै पोलमा काम हुँदै छ । सके बिहीबार साँझ नभए शुक्रबारसम्म सबै काम सक्ने योजना छ ।’ उनका अनुसार बत्ती जडानको काम सकेर सबै पोलको एमिङ (बत्तीको फोकस मिलाउने) गर्ने अर्को महत्त्वपूर्ण काम बाँकी छ । अहिले बत्ती जडानसँगै प्यानल हाल्ने, अर्थिङ र केबलका कामहरू पनि बाँकी छन् ।
नेपाल विद्युत् प्राधिकरणको क्षमताअनुसारको विद्युत् लाइन नभएकाले यसपटक एनपीएलमा जेनेरेटर नै प्रयोग गरेर फ्लडलाइट बाल्ने तयारी पनि कम्पनीले गरेको छ । शाहका अनुसार प्रत्येक पोलमा छुट्टाछुट्टै जेनेरेटर राखिँदै छ । एउटा पोलमा ७० वटा बत्तीमध्ये एक बत्ती १६ सय वाटको छ ।
युरोपबाट आउनुपर्ने लाइटिङका सामग्री आउन ढिलाइ हुँदा काम सुस्त भएको कम्पनीको भनाइ छ । क्रिकेट रंगशालामा फ्लडलाइट राख्ने काम पहिलो भएकाले पनि डिजाइनको परिवर्तन, बर्खासँगै पहिलो प्रस्तावित फ्लडलाइटले स्वीकृति नपाएकाले नयाँ प्रक्रियामा जाँदा ढिलो भएको उनको दाबी छ ।
रंगशालामा प्यारापिट निर्माणको काम भने सकिएको छ । काठमाडौंको बीकेओआई– केसीडीसी–बीजी जेभी रंगशाला पुनर्निर्माणको सम्झौताअनुसार काम सकेर अन्तिम बिलिङ कार्य गरिरहेको छ । बीजी जेभीका प्रोजेक्ट डाइरेक्टर भरत गिरीका अनुसार १० हजार सिट क्षमताको आरसीसी प्यारापिट निर्माण सम्पन्न भएको छ । त्यसअनुसार पूर्वतर्फ ३ हजार सिट र पश्चिमतर्फ ७ हजार सिट जडान भएको छ । कुर्ची राख्ने, स्टिलको रेलिङ राख्ने कम्पाउन्ड, जेनेरेटर राख्ने ठाउँ र कम्पाउन्ड क्षेत्रमा एउटा बाटोका ट्र्याक बनाएर ग्राभिलको काम कम्पनीले गरेको थियो । सम्झौताअनुसार पाँच वर्षसम्म कुर्चीमा समस्या आउँदा कम्पनीले नै हेर्नुपर्नेछ ।
यी दुवै कम्पनीले सम्झौताअनुसार काम गरेको भए वैशाख २४ गते सबै काम सकिनुपर्ने थियो । समयमा काम नसकेका कारण सम्झौताअनुसार निर्माण कम्पनीलाई तत्कालीन सरकारले दैनिक २ लाख हाराहारीमा जरिवानासमेत तोकेको थियो । क्यानको तालिकाअनुसार हरेक दिन एक खेल साँझ टुंगिने गरी खेलतालिका प्रकासित गरेको छ । हरेक दिन दोस्रो खेल ३.३० बजे र ४ बजे सुरु भएपछि फ्लडलाइट बल्ने छ । एनपीएलका सबै खेल यसै रंगशालामा हुनेछ ।
यदि समयमा नै निर्माण सम्पन्न भयो भने नेपालमा पहिलो पटक फ्लडलाइटमा फ्रेन्चाइज क्रिकेट हुनेछ । एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गर्नेछ । जुन खेल साँझकै समयमा हुनेछ । प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ । फाइनल मंसिर २७ मा हुनेछ ।
त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर क्यानले यस मैदानमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना गरिसकेको छ । तर पुनर्निर्माणपछि पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको हो ।
