झापा महिला गोल्डकप : टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

आयोजकले टिकट बिक्रीबाट मात्रै ५८ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।

कार्तिक २६, २०८२

पर्वत पोर्तेल

Jhapa Women's Gold Cup: Income of 5.8 million from ticket sales

विराटनगर — झापा महिला गोल्डकपले टिकट बिक्रीबाट ५८ लाख आम्दानी गरेको छ। कार्तिक १७-२४ सम्म शिवसताक्षी नगरपालिकास्थित दुधे रंगशालामा भएको प्रतियोगितामा दर्शकको अभूतपूर्व उपस्थिति रह्यो। आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार, फाइनल खेलमा मात्र ३० लाख २ हजार ४ सय रुपैयाँ टिकट बिक्री भएको थियो।

पहिलो सेमिफाइनलमा ५ लाख ५० हजार ७ सय रुपैयाँ, दोस्रो सेमिफाइनलमा ११ लाख ५ हजार ५ सय रुपैयाँ र क्वार्टरफाइनलका चार खेलमा ११ लाख ४४ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।

उद्घाटन खेलमा मात्रै २ लाख ८८ हजार रुपैयाँ टिकट बिक्री भएको अध्यक्ष थोप्राले बताए। उनले भने, 'दर्शकको उत्साहले हामीलाई थप जिम्मेवार बनाएको छ। महिला फुटबललाई अझ सशक्त बनाउने हाम्रो लक्ष्य हो।'

उनले टिकट आम्दानीको रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा खर्च गरिने जनाए। प्रतियोगितामा स्थानीय खेलाडीको सहभागिता, विभागीय टोलीबीचको प्रतिस्पर्धा र महिला फुटबलप्रतिको बढ्दो आकर्षणका कारण दर्शक संख्या उल्लेख्य रह्यो। दुधे रंगशालामा आसपासका जिल्लाबाट समेत दर्शक ओइरिएका थिए।

भारतीयसहित आठ टोली सहभागी गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। पुलिसले फाइनलमा एपीएफ क्लबलाई १०–० गोल अन्तरले पराजित गर्दै १० लाख १० हजार रुपैयाँ पुरस्कार जित्यो।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully