मंसिर १ गते सुरु हुने एनपीएलमा लायन्सले चौथो दिनमा चितवन राइनोजसँग आफ्नो पहिलो खेल खेल्ने छ ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विश्वव्यापी प्रविधि कम्पनी याङ्गो अन्तर्गतको याङ्गो नेपालसँग मुख्य प्रायोजकका लागि सम्झौता गरेको छ ।
मंसिर १ गते सुरु हुने एनपीएलमा लायन्सले चौथो दिनमा चितवन राइनोजसँग आफ्नो पहिलो खेल खेल्ने छ ।
याङ्गोलाई प्रमुख प्रायोजकको रुपमा स्वागत गर्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएललाई सहयोग गरेकोमा प्रमुख प्रायोजकलाई धन्यबाद दिए । ‘युवाहरु माझ लोकप्रिय कम्पनी याङ्गोलाई हाम्रो टोलीको प्रमुख प्रायोजकको रुपमा स्वागत गर्न पाउदा अत्यन्त खुशी छौं, उत्कृष्टा नवीनता र विश्वमा पहुँच प्रतिको हाम्रो एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको छ,’ सम्झौतापछि जिसीले लुम्बिनी लायन्सको विज्ञप्तीमा भनेका छन्, ‘नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्जनका लागि हामी याङ्गोलाई उत्कृष्ट सहयात्रीको रुपमा रोजेका छौं ।’
याङ्गो ग्रुप यूएईको दुबईमा मुख्यालयमा रहेको अन्तराष्ट्रिय प्राविधिक कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरुलाई स्थानीय समुदायका आवश्यक्ता अनुसार मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक जस्ता सेवा प्रदान गर्ने गर्दछ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले हाल तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल मैदानको फ्लड लाइट मुनि प्रशिक्षण गरिरहेको छ । टोलीले यस सिजनका लागि भारतका पूर्व तीब्र बलर टिनु योहानन र भारतकै पूर्व अलराउन्डर रोबिन सिंहलाई मेन्टर बनाएको छ ।
विवेकको स्थानमा सुमित
लायन्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डर विवेक यादवको स्थानमा ब्याटर सुमित महर्जनलाई टोलीमा समावेश गरेको छ । विवेक चोटका कारण खेल्न नसक्ने अवस्थामा रहेकाले सुमितलाई समावेश गरेको लायन्सले जनाएको छ । नेपाल यू–१६ टोलीका पूर्व कप्तान सुमितले गत वर्षको पहिलो सिजनको एनपीएल काठमान्डु गोर्खाजबाट खेलेका थिए ।
