फाल्गुनन्द हाफ म्याराथनमा सञ्जय विजयी

खुला महिलातर्फ ६ किमि दुरी २६ मिनेटमा पार गर्दै पाँचथरकी पुष्पा शेर्मा विजेता भइन् । खोटाङकी दीपा बस्नेतले ३२ मिनेटबाट दोस्रो र दोलखाकी तारा तामाङ ३३ मिनेटबाट तेस्रो स्थानमा विजयी भए ।

कार्तिक २५, २०८२

लक्ष्मी गौतम

Sanjay wins Falgunanda Half Marathon

What you should know

पाँचथर — इलामको सन्दकपुर–२ का सञ्जय राई दोस्रो लब्रेकुटी–सिलौती फाल्गुनन्द हाफ म्याराथनको उपाधि जितेका छन् । उच्च पहाडको निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १५ मिनेटमा पार गर्दै विजेता बनेका उनले ३० हजार पुरस्कार प्राप्त गरे ।

ताप्लेजुङका अमिर लिम्बू १ घण्टा १७ मिनेटबाट दोस्रो भएर २० हजार जिते ।

खुला महिलातर्फ ६ किमि दुरी २६ मिनेटमा पार गर्दै पाँचथरकी पुष्पा शेर्मा विजेता भइन् । खोटाङकी दीपा बस्नेतले ३२ मिनेटबाट दोस्रो र दोलखाकी तारा तामाङ ३३ मिनेटबाट तेस्रो स्थानमा विजयी भए ।

पुरुष भेट्रानतर्फ धरान–१७ सुनसरीका विजयकुमार राईले ६ किमि दुरी २६ मिनेटबाट पहिलो स्थान ओगटे । दोलखाका नवराज कार्कीले २९ मिनेटबाट दोस्रो र धरानकै फिपराज लिम्बूले ३१ मिनेटबाट तेस्रो भए ।

महिला भेट्रानतर्फ ६ किमिमा धरान १५  की जमुना लिम्बूले ३३ मिनेटमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन् । मनिता सुन्दास दोस्रो र करुणा राई तेस्रो भए ।

छात्रातर्फ ६ किलोमिटर दौडमा ताप्लेजुङका लाक्पा शेर्पा, रविन लिम्बू र पाँचथरका साहिल लिम्बू तथा छात्रातर्फ भोजपुरका जुही राई, विनिता राई र  धरान १५ की सेन्चुहाङ राई शीर्ष तीन स्थानमा विजयी भए ।

नेपालका १६ औं विभूति तथा किराँत धर्म प्रवर्तक फाल्गुनन्द लिङदेनको १ सय ४१ औं जन्मजयन्तीका अवसरमा हाफ म्याराथन गरिएको थियो ।

फाल्गुनन्दको कर्मथलो लब्रेकुटीदेखि सुरु भएर कान्छी दोकान, पौवाभञ्ज्याङ, ध्वजे डाँडा हुँदै लब्रेकुटीमै आएर टुंगिएको आयोजक जिल्ला एथलेटिक्स संघका अध्यक्ष पुर्णहाङ तुम्बापो (रेन्जो) ले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully