विराटनगरको प्रशिक्षकमा पुबुदु

पुबुदुको प्रशिक्षणमा गत वर्ष जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन बनेको थियो ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Pubudu appointed as Biratnagar coach

काठमाडौँ — पुबुदु दासानायके नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि विराटनगर किंग्सको प्रशिक्षक बनेका छन् । केही विश्व स्टारलाई अनुबन्धन गरेर चर्चामा रहेको विराटनगर किंग्सले सोमबार सामाजिक सञ्जालमार्फत पुबुदुलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको घोषणा गरेको छ ।

पुबुदुको प्रशिक्षणमा गत वर्ष जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएल च्याम्पियन बनेको थियो । दुई कार्यकाल नेपालको प्रशिक्षक रहिसकेका पुबुदु हाल अमेरिकी राष्ट्रिय टोलीको प्रशिक्षक छन् । पुबुदुको प्रशिक्षणमा अमेरिकाले अघिल्लो साता नेपाल र यूएई समावेश विश्वकप लिग २ को शृंखलाका सबै चार खेल जितेर ‘क्लिनस्विप’ गरेको थियो ।

विराटनगरले श्रीलंकाका पूर्व तीव्र गतिका बलर धम्मिका प्रसादलाई पनि परामर्श प्रशिक्षकको रूपमा टोलीमा समावेश गरेको छ । पुबुदु सन् २०२२ मा दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आउँदा धम्मिका बलिङ प्रशिक्षक थिए । विराटनगरले गत वर्ष आयरल्यान्डका केभिन ओ’ ब्रायनको प्रशिक्षणमा खेलेको थियो । 

विराटनगरले यसअघि नै दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र मर्च्यान्ट डी ल्याङ्गे, न्युजिल्यान्डका मार्टिन गप्टिल, स्कटल्यान्डका जर्ज मुन्सी र अस्ट्रेलियाका साम हेजलेटलाई विदेशी खेलाडीको रूपमा अनुबन्धन गरिसकेको छ । 

डोल्पोसँग सहकार्य

यसैबीच विराटनगरले लोकप्रिय नेपाली ब्रान्ड ‘डोल्पो’ अफिसियल पोसाक पार्टनर बनाएको छ । विराटनगरसँग सहकार्य गर्दै डोल्पोले टिमलाई फिल्डमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने पर्फर्मेन्स गियर प्रदान गर्नेछ । कोशी प्रदेशको गौरवलाई प्रतिबिम्वित गर्नका लागि जर्सी, ट्रेनिङ किट र अन्य पोसाकहरूले नेपाली उत्कृष्टताको भावना बोक्ने अपेक्षा टिमको छ ।

कान्तिपुर

Link copied successfully