वेस्ट इन्डिजका महान् ब्याटिङ हस्ती चन्द्रपाल काठमाडौं आइपुगेका छन् । उनलाई जनकपुर बोल्ट्सले आफ्नो प्रशिक्षकका रूपमा प्रस्तुत गरेको छ ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आएका विश्व क्रिकेटका ठूला नाम शिवनारायण चन्द्रपाललाई जनकपुर बोल्ट्सले सोमबार आफ्नो प्रशिक्षकको रूपमा प्रस्तुत गरेको छ । अर्को साता सुरु हुने एनपीएललाई जनकपुरले यसअघि नै चन्द्रपाललाई प्रशिक्षक घोषणा गरेको थियो ।
गत वर्ष जनकपुरलाई उपाधि दिलाएका पुबुदु दासानायके विराटनगर किंग्सको प्रशिक्षक बनेकै दिन जनकपुरले चन्द्रपाललाई मुख्य प्रशिक्षक घोषणा गरेको थियो । वेस्ट इन्डिजका महान् ब्याटिङ हस्ती चन्द्रपाल सोमबार नै काठमाडौं आइपुगेका हुन् ।
‘म पहिलो पटक नेपाल आएको छु, मलाई यहाँको स्थानीय क्रिकेटबारे खासै थाहा छैन । म स्थानीय प्रशिक्षकहरूसँग भर परिरहेको छु र उनीहरूसँग सबै सूचना लिइरहेको छु,’ चन्द्रपालले मिडियासामु भने, ‘मैले नेपालले खेलेको एकदिवसीय र ट्वान्टी–२० हेरेको छु । नेपालले हालै वेस्ट इन्डिजसँग शारजहाँमा खेलेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल हेरेको थिएँ, वेस्ट इन्डिजलाई हराउनु नेपालको हकमा ठूलो सफलता हो ।’
चन्द्रपाल सन् २०२२ मा अमेरिकी महिला राष्ट्रिय टोलीका प्रशिक्षक थिए । जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले आफ्नो टोलीका प्रवर्द्धकहरू अमेरिकी क्षेत्रका रहेकाले चन्द्रपालसँग सम्झौता गर्न सजिलो भएको बताए । उनले दासानायके अमेरिकाको प्रशिक्षकमा नियुक्त भएपछि आफूहरू प्रशिक्षकको खोजीमा चन्द्रपालसामु पुगेको सुनाए ।
५१ वर्षे चन्द्रपाल २०२२ मा सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक थिए । उनले वेस्ट इन्डिजबाट १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमा चन्द्रपालले २० हजारभन्दा बढी रन बनाएका छन् । पछि उनी वेस्ट इन्डिजको कप्तान पनि बने ।
उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ । उनले खेलाडीको रूपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका थिए ।
चन्द्रपालले एनपीएललाई लिएर आफू उत्साहित रहेको बताए । ‘विश्वका जुनै पनि देशको लिग होस्, त्यसले त्यो देशको क्रिकेटलाई फाइदा गर्छ । खेलाडीलाई पनि निकै राम्रो गर्छ,’ चन्द्रपालले भने, ‘खेलाडीले अन्य देशका खेलाडीसँग खेल्न पाउँछन् र आफ्नो प्रदर्शनमा निखार ल्याउँछन् । उनीहरू माथि उक्सने यस्तै प्रतियोगिताले नै हो । यस्तो लिग हुँदा विश्वले पनि तपाईंको देशको क्रिकेट हेरिरहेको हुन्छ ।’
