उनीहरूलाई आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले मंगलबार सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समितिले उनीहरुलाई जनही ५० हजारसहित सम्मान गरेको थियो । उनीहरूलाई समितिका अध्यक्ष राजन कार्कीले नगद र सम्मानपत्र प्रदान गरे ।
What you should know
काठमाडौँ — चितवनको नारायणी नदी किनारमा भइरहेको खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन वैकुण्ठ मानन्धर, सागका पदक विजेता दीपक श्रेष्ठ, एसियाडकी ऐतिहासिक पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् ।
उनीहरूलाई आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले मंगलबार सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समितिले उनीहरुलाई जनही ५० हजारसहित सम्मान गरेको थियो । उनीहरूलाई समितिका अध्यक्ष राजन कार्कीले नगद र सम्मानपत्र प्रदान गरे । वर्ल्ड कराते च्याम्पियनसिपका लागि इजिप्ट जाने तयारीमा रहेकाले एरिकाले सम्मान कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएकी थिइन् ।
म्याराथन धावक मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जित्ने खेलाडी हुन् । भारतमा सन् १९८७ मा भएको तेस्रो संस्करणमा उनले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।
करातेका श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष रहेका श्रेष्ठले आठौं र नवौं सागमा करातेबाट स्वर्ण जितका थिए ।
एरिकाले १९ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन् । उनको रजत करातेमा नेपालले एसियाली खेलकुदमा जितेको पहिलो रजत थियो । दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिसकेकी एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपका लागि युनिभर्सालिटी कोटामा स्थान बनाएकी हुन् ।
महोत्सवमा मंगलबार एथलेटिक्सको प्रतिस्पर्धा सुरु भएको छ । भलिबल, करातेलगायतका खेल सम्पन्न भइसकेको छ । महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, बुद्धिचाललगायत खेल पनि हुने संयोजक छवि तिमल्सिनाले जानकारी गराए ।
