अभिषेकले तेस्रो खेल नितिनसँग खेल्ने

नेपाली प्रो टेनिस खेलाडी अभिषेक बाँस्तोलाले बेंगलुरु यूटीआर प्रो टेनिस टुरअन्तर्गत तेस्रो खेलमा बुधबार भारतका नितिनकुमार सिन्हासँग प्रतिस्पर्धा गर्ने भएका हुन्  ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Abhishek to play third match against Nitin

पोखरा — नेपाली प्रो टेनिस खेलाडी अभिषेक बाँस्तोलाले बेंगलुरु यूटीआर प्रो टेनिस टुरअन्तर्गत तेस्रो खेलमा बुधबार भारतका नितिनकुमार सिन्हासँग प्रतिस्पर्धा गर्नेछन् । नितिन एटीपी वरीयताप्राप्त खेलाडी हुन् । उनको वरीयता ११४९ रहेको छ । बेंगलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा भइरहेको प्रतियोगितामा अभिषेकले पहिलो खेल जितेका थिए ।

अमेरिकी खेलाडी बीएस चावलाविरुद्ध सोझो सेटमा सफलता पाएका अभिषेकले दोस्रौे खेलमा पराजय भोगेका भोगेका थिए । भारतका शीर्ष २० वरीयताका खेलाडी पार्थ अग्रवालसँग २ घन्टा ४२ मिनेट प्रतिस्पर्धा गरेका अभिषेकले २–१ सेटमा खेल गुमाए । उनले पहिलो सेट ६–१ ले जितेर राम्रो सुरुआत गरेका थिए । त्यसपछि दोस्रो सेट ६–३ ले गुमाएका अभिषेकले तेस्रो तथा निर्णायक सेटमा टाइब्रेकरसम्म प्रतिस्पर्धा गरेका थिए । अन्ततः उनले ७–६ (८–६) ले पार्थलाई खेल सुम्पेका थिए ।

यस सिजनको अभिषेकको पहिलो यूटीआर प्रो टेनिस टुर सहभागिता हो । कुल २० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको यो प्रतियोगिता विश्वका उत्कृष्ट ३ हजार खेलाडीमध्ये आमन्त्रण गरिएको खेलाडीको मात्र सहभागिता छ ।

पोखरामा रहेर १३ वर्षको उमेरदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका अभिषेक हाल अमेरिकामा टेनिस प्रशिक्षण लिइरहेका छन् । सन् २०२१ देखि उनले यूटीआर प्रो सिरिजका १३ प्रतियोगितामा भाग लिइसकेका छन् ।

कान्तिपुर

Link copied successfully