कप्तान बनेर हङकङ गएका शरदले एक खेल मात्र खेल्दै टुंग्याए आफ्नो खेल जीवन
What you should know
काठमाडौँ — नेपाली क्रिकेटका सफल ब्याटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शरदले हङकङमा आइतबार सम्पन्न हङकङ क्रिकेट सिक्सेसबाट यसअघि नै संन्यास लिने घोषणा गरेका थिए ।
नेपालले आइतबार यूएईसँग खेल्दै प्रतियोगिता टुंग्याएको थियो । तर शरदले सो खेल खेलेका थिएनन् । उनी कप्तान बनेर हङकङ गएका थिए । शरदले श्रीलंकासँगको खेल मात्र खेलेका थिए । अन्य चार खेलमा शरदको अनुपस्थितिमा सन्दीप जोराले नेपालको कप्तानी गरेका थिए ।
हङकङ सिक्सेसमा लगाएको जर्सीलाई सामाजिक सञ्जालमा राख्दै शरदले यो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भएका हुन् । पछिल्लो समय शरद टेलिभिजन कमेन्टेटरका रूपमा काम गर्दै आएका छन् ।
सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट शरदले आफ्नो खेल जीवनको सुरुआत गरेका थिए । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीका उनी सदस्य हुन् ।
नेपाली राष्ट्रिय टोलीबाट उनले ‘डेब्यु’ भने २००४ मा आफ्नो जन्मथलो यूएईमा गरेका थिए । प्रथम श्रेणीको मान्यता प्राप्त अन्तरमहादेशीय कप तीनदेशीय प्रतियोगिताको यूएईसँग शारजहाँमा दोस्रो इनिङ्समा अविजित अर्धशतक बनाउँदै शरदले सानदार ‘डेब्यु’ गरेका थिए । नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्दाको प्रमुख खेलाडी हुन् शरद ।
यूएईमै २०१३ मा भएको आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट शरदले खेलेको उत्कृष्ट प्रतियोगिता थियो, जहाँ उनले उत्कृष्ट फिनिसरको भूमिका निभाउँदै नेपाललाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा डोर्याएका थिए । हङकङसँगको खेलमा उनले नै विजयी रन बटुलेपछि नेपाल विश्वकपमा पुगेको थियो । विश्वकपमा हङकङविरुद्ध खेलेको खेल नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो थियो । शरद यस टोलीका प्रमुख खेलाडी थिए ।
त्यस्तै २०१८ मा एमस्ट्राडममा नेदरल्यान्ड्सविरुद्ध गएर खेलेको खेल नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो थियो । शरद यो नेपाली टोलीका पनि सदस्य हुन् । तर शरदले २०२१ मा पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय र २०२२ मा पछिल्लो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए ।
गत सिजन ३७ वर्षे शरदले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलेका थिए । चार खेल खेल्ने क्रममा उनी सबैमा ब्याटिङमा अपराजित रहेका थिए । तर यस पटकको मिनी अक्सनमा उनीमाथि कसैले भाउ लगाएको थिएन ।
