। नोभेम्बर १५ देखि २६ सम्म हुने डेफलिम्पिक्सको जुडोमा दुई खेलाडीले भाग लिने छन् ।
काठमाडौँ — समर डेफलिम्पिक्समा भाग लिन नेपाली जुडो टोली मंगलबार जापानको टोकियो जाने भएको छ । नोभेम्बर १५ देखि २६ सम्म हुने डेफलिम्पिक्सको जुडोमा दुई खेलाडीले भाग लिने छन् ।
पुरुष ६० केजीमा लक्की चौधरी र महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने छन् । जुडो नोभेम्बर १६ देखि सुरु हुनेछ ।
टोली प्रमुखमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठ, व्यवस्थापकमा रोजिना श्रेष्ठ र प्रशिक्षकमा सन्जित डंगोल छन् । घरमा शोक परेका कारण प्रशिक्षक डंगोल भने नोभेम्बर १४ मा मात्र जापान जानेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सोमबार बिदाइ गरे । डेफलिम्पिक्समा नेपालले जुडोबाहेक कराते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबलटेनिसमा पनि सहभागिता जनाउने छ ।
