धापाखेलस्थित जेम्स स्कुलको मैदानमा फ्लडलाइटमा शनिबार भएको फाइनलमा जेम्स थन्डर बोल्टसले एलए स्नो लियोपार्डसलाई ४–३ ले पराजित गर्यो ।
काठमाडौँ — नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) यू–१८ स्तरीय प्रतियोगिताको उपाधि जेम्स थन्डर बोल्ट्सले जितेको छ ।
धापाखेलस्थित जेम्स स्कुलको मैदानमा फ्लडलाइटमा शनिबार भएको फाइनलमा जेम्स थन्डर बोल्टसले एलए स्नो लियोपार्डसलाई ४–३ ले पराजित गर्यो ।
निर्धारित ८० मिनेटको खेलको इन्जुरी टाइममा आर्यन अमात्यले निर्णायक गोल गरी थन्डर बोल्ट्सलाई उपाधि दिलाएका हुन् । उनी त्यसको केही अगाडि मात्र वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका थिए ।
ग्रेमन श्रेष्ठको २ र सप्रित शेर्पाको १ गोलमा थन्डर बोल्ट्सले सुरुआतमै ३ गोलको अग्रता लिएको थियो । एलएका देवराज कटुवालले मध्यान्तरअघि एक गोल गरे । दोस्रो हाफमा अनुप खत्रीले २ गोल गर्दै स्नो लियोपार्डलाई ३–३ को बराबरीमा ल्याएका थिए । खेल अतिरिक्त समयमा लम्बिने क्रममा पुग्दा आर्यनले निर्णायक गोल गरेका थिए ।
थन्डर बोल्ट्सले लिग चरणमा भोगेको पराजयको बदला लिँदै उपाधि जितेको हो । एलएले लिग चरणको सबै ७ खेल जितेको थियो । झन्डै ३ महिना चलेको प्रतियोगितामा ८ स्कुलले क्लब बनाएर खेलेका थिए । उपाधिसँगै थन्डर बोल्ट्सले ५ लाख रुपैयाँ र उपविजेता एलएले २ लाख ५० हजार रुपैयाँ पायो ।
