चितवन राइनोजले आइतबार आफ्नो सामाजिक सञ्जालबाट इंग्लिस काउन्टी खेलिरहेका अलराउन्डरलाई अनुबन्धन गरेको घोषणा गरेको हो ।
काठमाडौँ — सैफ जैबले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले आइतबार आफ्नो सामाजिक सञ्जालबाट इंग्लिस काउन्टी खेलिरहेका अलराउन्डरलाई अनुबन्धन गरेको घोषणा गरेको हो ।
गत सिजनमा जैबले सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म डोर्याएका थिए । सो क्रममा उनले फाइनलमा सुदूरपश्चिमबाट ४३ बलमा सर्वाधिक ६९ रन बनाएका थिए । त्यसका बाबजुद सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो । जैब प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए ।
उनले पहिलो सिजनको एनपीएलका ९ खेलमा २ सय ७५ रन बनाएका थिए । उनी एनपीएलमा सर्वाधिक रन बनाउने सूचीमा चौथो स्थानमा थिए र सर्वाधिक रन बनाएका जनकपुरका लाहिरू मिलान्थाभन्दा १८ रनले पछाडि थिए । लुम्बिनी लायन्सविरुद्ध लिग चरणको खेलमा जैबले ९० रनको इनिङ्स खेलेका थिए । जैबले ६.२४ को इकोनोमीमा १२ विकेट लिएका थिए ।
२७ वर्षे जैब नर्थम्पटनसायरबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् । चितवनबाट दोस्रो सिजनको एनपीएल खेल्न लागेका उनी तेस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि नै इंग्ल्यान्डका रवि बोपारा र डेबिड मलानलाई लिइसकेको छ । टोलीमा पाकिस्तानका भेट्रान बलर सोहेल तन्बिर र युगान्डाका अल्पेस रामजानी पनि रहेका छन् । गत सिजन चितवन चौथो भई प्ले अफमा पुगेको थियो ।
