गत वर्ष पनि जनकपुरसँग आबद्ध रहेको गल्फ आधिकारिक लुब्रिकन पार्टनरका रूपमा टोलीमा रहनेछ ।
काठमाडौँ — च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि नेपाल ल्युब आयल लिमिटेडको गल्फसँग प्रायोजन सम्झौता गरेको छ । गत वर्ष पनि जनकपुरसँग आबद्ध रहेको गल्फ आधिकारिक लुब्रिकन पार्टनरका रूपमा टोलीमा रहनेछ ।
त्यसका लागि यी दुई पक्षले आइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतामा जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडा र नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले हस्ताक्षर गरेका थिए । नेपाल ल्युब आयलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत करण चौधरीले यो सम्झौता १० औं वर्ष रहने जनाए ।
‘गत वर्ष मैले यो सम्झौतालाई सामान्य हिसाबमा लिएको थिएँ तर एनपीएल हेर्न मैदान गएपछि मात्र त्यसको महत्त्व थाहा पाएँ,’ चौधरीले भने, ‘अब यो सम्बन्ध जोड्ने र गाँस्ने मात्र होइन, अबको उतारचढाव एकआपसमै बाँड्ने पनि हो ।’ उनले एनपीएलले कम्पनीहरूलाई ठूलो प्लेटफर्म बनाइदिएको जनाए ।
जनकपुरका महाप्रबन्धक खतिवडाले उपाधि बचाउ अभियानमा गल्फको साथले थप टेवा पुगेको जनाए । सोही अवसरमा जनकपुरको एनपीएल–२ को जर्सी पनि सार्वजनिक गरिएको थियो ।
साथै जनकपुरले नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतोलाई ‘फेस अफ बोल्ट्स’ बनाएको छ । गत वर्ष पनि पूजा जनकपुरकै ब्रान्ड एम्बासडरमा रहेकी थिइन् । एनपीएलले पुरुष र महिला दुवै खेलाडीलाई अवसर खोलिदिइरहेको जनाइन् ।
