बराबरीले म्यानचेस्टर र टोटनहम दुवै दोस्रो स्थानमा पुग्ने अवसरबाट वञ्चित
What you should know
लन्डन — म्याथिस डी लिग्टले अन्तिम मिनेटमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा टोटनहमसँग २–२ को बराबरीको नतिजा निकालेको छ । यो यस्तो खेल थियो, जहाँ विजेता टोली दोस्रो स्थानमा उक्लिन्थ्यो । तर दुवै टोलीले त्यो फाइदा उठाउन सकेन ।
म्याथिज टेलले ८४ औं मिनेट र रिचार्लिसनले ९१ औं मिनेटमा गोल गर्दा टोटनहम नाटकीय विजयतर्फ लम्किएको थियो । तर डी लिग्टले ९६ औं मिनेटमा कर्नरमा आएको बलमा गरेको हेड गोलमा युनाइटेडले खेल बराबरीमा ल्याउँदै अपराजित खेलसंख्या ५ पुर्याएको थियो ।
‘भाग्यवश हामीले एक अंक पाएका छौं, तर मलाई लाग्छ हामीले जसरी खेलेका थियौं, त्यो भन्दा बढी योग्य थियौं,’ डी लिग्टले भने, ‘टिमले जसरी लडाकुपन देखायो, म त्यसमा गर्व गर्छु । किनभने यो रंगशालामा एक अंक ल्याउन सजिलो छैन ।’
टोटनहम र युनाइटेड दुवैले ११ खेलमा समान १८ अंक जोडेका छन्, तर स्पर्स गोल भिन्नताका आधारमा तेस्रो छ भने युनाइटेड सातौं स्थानमा । युनाइटेडले पछिल्लो ८ खेलमा टोटनहमलाई पराजित गर्न सकेको छैन । गत मेमा युरोपा लिगको फाइनलमा युनाइटेडलाई १–० ले पराजित गरी टोटनहमले लामो समयदेखिको युरोपियन प्रतियोगिताको खडेरी चिर्दै च्याम्पियन्स लिग छनोट भएको थियो ।
ब्रेन्टफोर्डमा ६ करोड ५० लाख पाउन्डमा आएका ब्रायन एमबेउमोले अमाद डिएगोको क्रसमा हेड गोल गर्दै ३२ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले पछिल्ला ४ खेलमा ४ गोल गरेका छन् । तर एक गोलको अग्रता अन्तिमसम्म बचाउन खोज्दा टोटनहमले त्यसको फाइदा उठाएको थियो ।
मध्यान्तरपछि क्रिस्टिएन रोमेरो र मिकी भाड डे भेनको प्रहार बचाउ गर्दै युनाइटेडका गोलरक्षक सेन्ने लेमेन्सले आफ्नो टोलीलाई अर्को विजय नजिक पुर्याएका थिए । यसले टोटनहम घरेलु मैदानमा लगातार तेस्रो हार सामुन्ने पुगेको थियो । तर टेलको गोलपछि खेल नाटकीय बन्यो । पाँच खेलाडी परिवर्तन भइसकेको अवस्थामा स्ट्राइकर बेन्जामिन सेस्को घाइते भएपछि युनाइटेडले अन्तिम समय १० खेलाडीमा खेल्नुपरेको थियो ।
