ब्रेड बक्सले आफैं स्थानीय उत्पादन र गुणस्तरीय स्वादलाई सुदूरपश्चिमदेखि देशभर परिचित गराउने अभियान अघि बढाइरहेको जनाएको छ ।
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा सुदूरपश्चिम रोयल्सका विकेटकिपर–ब्याटर विनोद भण्डारी धनगढीस्थित ब्रेड बक्सको ब्रान्ड एम्बासडर बनेका छन् । आइतबार धनगढीस्थित क्याफेमा उक्त घोषणा गरिएको थियो ।
क्याफेले भण्डारीको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनले बनाएको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ । ब्रेड बक्सले आफैं स्थानीय उत्पादन र गुणस्तरीय स्वादलाई सुदूरपश्चिमदेखि देशभर परिचित गराउने अभियान अघि बढाइरहेको जनाएको छ ।
ब्रेड बक्सका सञ्चालक सुवास शाहीले भने, ‘विनोद भण्डारी सुदूरपश्चिमका गौरव हुन् । उहाँको अनुशासन, मिहिनेत र नेतृत्व क्षमताले हाम्रो ब्रान्डको मूल सोच प्रतिनिधित्व गर्छ । यो सहकार्यले युवामा स्थानीय उत्पादनप्रतिको विश्वास अझ बढाउनेछ ।’
ब्रान्ड एम्बासडर बनेका भण्डारीले भने, ‘ब्रेड बक्ससँग जोडिन पाउँदा गर्व लागेको छ । म आफैं सुदूरपश्चिमको माटोबाट आएको खेलाडी हुँ र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउने यात्रामा ब्रेड बक्ससँग सहकार्य गर्न पाउँदा खुसी छु ।’ क्रिकेटको सहर धनगढीमा ब्रेड बक्सका तीन वटा शाखा छन् ।
