टाइब्रेकरबाट एपीएफ फाइनलमा

दोस्रो सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको छ । एपीएफले सोमबार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

कार्तिक २३, २०८२

नवराज सुवेदी

APF advances to finals via tiebreaker

What you should know

झापा — शिवसताक्षीस्थित दूधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ फुटबल क्लब शनिबार रोमाञ्चक जित निकाल्दै फाइनल पुगेको छ ।

दोस्रो सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको छ । एपीएफले सोमबार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

खेलको सुरुदेखि नै दुवै टोली आक्रमक शैलीमा उत्रिए । आर्मी र एपीएफ दुवैले एकअर्काको पोस्टमा निरन्तर दबाब सिर्जना गरिरहे । २६ औं मिनेटमा एपीएफकी सरु लिम्बूले बक्सबाहिरबाट प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरियो । त्यसपछि २९ औं मिनेटमा आर्मीकी तुलसा बोहराको क्रसमा फरवार्ड विमला चौधरीको आकर्षक हेडर पनि पोस्टमाथि गयो ।

एपीएफकी कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिकुमारी घिसिङको भली प्रहार आर्मीको डिफेन्डर रोक्दा ३९ औं मिनेट बितेको थियो । त्यसको एक मिनेटपछि आर्मीले काउन्टर अट्याक बनायो तर तुलसाको अञ्जना रानामगरसँग वान भर्सेस वान अवसर असफल भयो । दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो । ५८ औं मिनेटमा रश्मिकुमारीले दुई डिफेन्डर छक्याउँदै प्रहार गरेको बल आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन् ।

तर, ६३ औं मिनेटमा आर्मी अग्रता लियो । डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गरेर आर्मीलाई अग्रता दिलाइन् । ८१ औं मिनेटमा एपीएफकी कप्तान अनिता बस्नेतको क्रसमा रश्मिकुमारीको हेडर पोस्टको दिशा लिन चुक्यो । तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो । आर्मीकी विमला चौधरीबाट ‘ह्यान्डबल’ भएपछि एपीएफले करिब २५ यार्ड दूरीमा फ्रिकिक पायो । कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि खेल १–१ बराबरीमा पुग्यो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा एपीएफका सविता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारीले गोल गरे भने रेनुका हमालको प्रहार गोलकिपर कोपिला खड्काले रोकिन् । आर्मीबाट विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके । विमला चौधरी र सुस्मिता चौधरीको प्रहार एपीएफकी अञ्जना रानामगरले बचाइन् । असाधारण प्रदर्शन गरेकी एपीएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन् । 

नवराज

Link copied successfully