प्रतियोगितामा कालीगण्डकी बेंसी क्षेत्रका १७ विद्यालयको सहभागिता रहेको छ ।
पाल्पा — विद्यालयस्तरमा फुटबल खेलाडी पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको छ । रामपुर नगरपालिका–७, किसानबारीमा रामपुर फुटबल एकेडेमीले अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता गरेको हो।
‘अब पालो विद्यार्थीको, खोज प्रतिभाको भन्ने हाम्रो नारा रहेको छ,’एकेडेमीका अध्यक्ष अनिल शाही ठकुरीले भने, ‘रामपुर र छिमेकी स्याङ्जाको चापाकोटसम्मका खेलाडीलाई अवसर दिँदै प्रतियोगिता आयोजना गरेका छौं ।’
अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई मात्र सहभागी गराइएको उनले बताए । प्रतियोगितामा कालीगण्डकी बेंसी क्षेत्रका १७ विद्यालयको सहभागिता रहेको छ । खेल संयोजक केशवराज श्रेष्ठका अनुसार रामपुर नगरपालिका (पाल्पा) भित्रका १२ र चापाकोट नगरपालिका (स्याङ्जा) का पाँच माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
आगामी कात्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद ३० हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र र प्रेरणादायी पुस्तक प्राप्त गर्नेछन् । सेमिफाइनलसम्म पुग्नेले नगद आठ–आठ हजार रुपैयाँ पाउने छन् । विभिन्न विधागत पुरस्कार पनि प्रदान गरिने छ ।
शुक्रबार भएको खेलमा रामपुरको गंगा माध्यमिक विद्यालयलाई ३–० गोलले पराजित गर्दै रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय विजयी भएको छ ।
