लैनचौर फुटसल मैदानमा भएको उद्घाटन खेलमा आयोजक वडा २३ ले काठमाडौँ महानगरपालिका केन्द्रलाई ६–२ ले पराजित गर्यो ।
काठमाडौँ — तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता शनिबार सुरु भएको छ । प्रतियोगताको पहिलो दिन आयोजक र वडा नं २४ ले जित हासिल गरे ।
लैनचौर फुटसल मैदानमा भएको उद्घाटन खेलमा आयोजक वडा २३ ले काठमाडौँ महानगरपालिका केन्द्रलाई ६–२ ले पराजित गर्यो । खेलमा विजयी टिमका लागि विशाल श्रेष्ठले ह्याट्रिकसहित ४ गोल गरे । वडा २३ का तर्फबाट भएका अन्य २ गोल राजीव चित्रकार र एलेक्स श्रेष्ठको नाममा रह्यो ।
काठमाडौँ महानगरपालिकाका नवीन भण्डारी र अनुप मगरले गरेको गोल सान्त्वना मात्र बने । सो खेलमा ४ गोल गर्ने विशाल म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा वडा नं २४ ले वडा नं ७ लाई ३–१ ले हरायो । वडा २४ का लािग समन श्रेष्ठ, सुभम तुलाधर र सन्देश महर्जनले गोल गरे । सन्देश म्यान अफ दि म्याच चुनिए । वडा १७ का सुगम महर्जनले एक गोल फर्काएका थिए ।
प्रतियोगिता कात्तिक २९ सम्म चल्नेछ ।
