प्रदीप पुरुष र शिभाली महिला एकलमा च्याम्पियन बने । दुवै प्रतियोगिताको पहिलो च्याम्पियन हुन् । गत वर्षको पहिलो संस्करणमा पुरुष/महिला एकल विधा थिएन ।
What you should know
काठमाडौँ — नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा उपाधि जितेका छन् ।
प्रदीप पुरुष र शिभाली महिला एकलमा च्याम्पियन बने । दुवै प्रतियोगिताको पहिलो च्याम्पियन हुन् । गत वर्षको पहिलो संस्करणमा पुरुष/महिला एकल विधा थिएन ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३, २–६, ६–२ को सेटले पराजित गर्दै उपाधि जिते । प्रदीपको करियरको यो १७ औं एकल उपाधि हो । डबल्समा उनले नौं उपाधि जितेका छन् । राजवीर प्रधान र निशान श्रेष्ठ तेस्रो भए ।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–०, ६–२ को सोझो सेटमा हराइन् । उनले यू–१६ सिंगल्सको फाइनलमा स्वस्तिकासँग भोगेको हारको बदला लिइन् । सिनियरमा शिभाली समग्र दोस्रो पटक च्याम्पियन भएकी हुन् । प्रकृति श्रेष्ठ र सुनियर थापा तेस्रो भए । पुरुष/महिला एकलमा विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले ५–५ हजार रुपैयाँ पुरस्कार पाए ।
यू–१२ ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी विजेता भए । उनले फाइनलमा वेदान्त चालिसेलाई ७–५, ६–४ ले हराए । सोही विधाको गर्ल्समा सरा पन्त विजेता भइन् । दोहोरो स्वर्ण जितेकी सारा यू–१४ सिंगल्समा पनि पहिलो भइन् । सराले फाइनलमा इरा खत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराइन् ।
यू–१४ ब्वाइज सिंगल्समा साङ्गे रोकायाले फाइनलमा वेदान्तलाई ६–२, ६–२ ले हराएर स्वर्ण जिते । यू–८ ब्वाइजमा सर्वज्ञजंग खत्री र गर्ल्समा स्वर्णिमा श्रेष्ठ, यू–९ र यू–१० को ब्वाइजमा कायान चालिसे र गर्ल्समा निम्ति कुँवर तथा यू–१६ ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठले स्वर्ण जितेका थिए ।
विजेतालाई राष्ट्रिय मान्यताप्राप्त नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजुलगायतले पुरस्कृत गरे । पुरुषमा १ सय ३६ र महिलामा ८३ खेलाडी प्रतिस्पर्धी थिए । जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा भएको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ४२ हजार रुपैयाँ रहेको संयोजक सूर्यभूषण वज्राचार्यले जनाए ।
