पुलिसले अब उपाधिका लागि फाइनलमा शनिबार हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ ।
What you should know
झापा — शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपअन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
तीव्र प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले पहिलो हाफमा पाएको गोलको अवसर गुमाएका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । ७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रि-किकमा मिना देउवाले सटिक हेड मार्दै गोल गरिन् । त्यसपछि ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो ।
संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन् । खेलको अन्तिम मिनेटमा फरवार्ड सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन् । इन्ज्युरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोलपोस्ट नजिकैबाट बाहिरियो ।
२–० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले अब उपाधिका लागि फाइनलमा शनिबार हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
