नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा दर्शिलले असभसम्राट हाडालाई ३–६, ६–०, ६–३ को सेटमा हराए ।
What you should know
काठमाडौँ — दर्शिल श्रेष्ठ शुक्रबार मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा च्याम्पियन भएका छन् ।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा दर्शिलले असभसम्राट हाडालाई ३–६, ६–०, ६–३ को सेटमा हराए । यू–१६ गर्ल्स सिंगल्समा स्वस्तिका विष्टले सफलता पाइन् । स्वस्तिकाले फाइनलमा शिभाली गुरुङलाई ६–४, ७–६ ले पराजित गरिन् । दुवै खुला महिला सिंगल्सको फाइनलमा शनिबार भिड्दैछन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा यु–९ सिंगल्सको ब्वाइजमा कायान चालिसे र गर्ल्समा निम्ति कुँवर विजेता बने । फाइनलमा कायानले सर्वज्ञजंग खत्रीलाई ४–१, ४–२ ले र निम्तिले अमिरा गुप्तालाई ४–१, ५–४ ले हराए ।
दोहोरो स्वर्ण जित्ने क्रममा यू–१० ब्वाइज सिंगल्समा पनि कायान विजेता बने । उनले फाइनलमा सोनाम घलेलाई ६–२, ६–४ ले हराए । यू–१२ गर्ल्स सिंगल्सको फाइनलमा सरा पन्तले नाइरा घलेलाई ६–१, ६–२ ले हराएर स्वर्ण जितिन् ।
पुरुष सिंगल्स उपाधिका लागि प्रदीप खड्का र प्रणव मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा प्रदीपले राजवीर प्रधानलाई ६–३, ६–३ तथा प्रणवले निसान श्रेष्ठलाई ७–५ र ६–२ ले हराए ।
यू–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसेले आरित मल्ललाई ७–६, ६–३ र विश्वविशेष डल्लाकोटीले सभ्यजंग कार्कीलाई ६–१, ४–६ र ६–३ ले हराएर फाइनल तय गरे ।
साङगे रोकायाले आरित मल्ललाई ६–२ र ६–३ र वेदान्त चालिसेले युभेनमान श्रेष्ठलाई ६–०, ६–४ ले पराजित गरी यू–१४ ब्वाइज सिंगल्सको फाइनल भेट पक्का गरे । गर्ल्समा इरा खत्रीले स्वराह थापालाई ५–७, ६–४, ६–४ र सरा पन्तले आयुशा जिसीलाई ७–६, ६–३ ले हराएर उपाधि भिडन्त तय गरे ।
