भैरहवामा यू-१९ क्रिकेट टिमको प्रशिक्षण शिविर

एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० गतेसम्म यूएईमा एसिया क्वालिफायर सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा सहभागी हुने टिम छनोटका लागि क्याम्प सञ्चालन भइरहेको हो ।

कार्तिक २०, २०८२

दीपेन्द्र बडुवाल

U-19 cricket team training camp in Bhairahawa

भैरहवा — रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा एसियन क्रिकेट काउन्सिल (एससी) को आयोजनामा यूएईमा सञ्चालन हुने एसिया क्वालिफायरका लागि नेपाली यू-१९ राष्ट्रिय टिम छनोटका लागि प्रशिक्षण शिविर सुरु भएको हो ।

एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० गतेसम्म यूएईमा एसिया क्वालिफायर सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा सहभागी हुने टिम छनोटका लागि क्याम्प सञ्चालन भइरहेको हो । उक्त प्रशिक्षण क्याम्पमा मुलुकभरका ३० जना खेलाडी सहभागी गराइएको छ ।

खेलाडीलाई प्रशिक्षक मन्जित श्रेष्ठ र धिरेन्द्र चन्दले प्रशिक्षण दिइरहेका छन् । सिद्धार्थ रंगशालामा ३० जना खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर आन्तरिक स्पर्धासमेत गराइरहेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले जानकारी दिए ।

चार दिनसम्म प्रशिक्षण चल्ने र त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने, अनुभव लगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट गरिने उनले जनाए । उनका अनुसार भैरहवामा प्रशिक्षण शिविर सकिएपछि यू-१९ को राष्ट्रिय टिम घोषणा गरिनेछ । प्रशिक्षणका क्रममा ४ वटा आन्तरिक प्रतिस्पर्धात्मक खेल हुनेछन् जसमा दुईवटा खेल भइसकेका छन्

। रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले सिद्धार्थ रंगशाला वर्षा याममा समेत तयारी अवस्थामा राखिएकाले यू-१९ को टिमले राम्रो र उत्कृष्ट मैदानमा प्रशिक्षण लिइरहेको जनाए ।

दीपेन्द्र

Link copied successfully