६२ वर्षे सिंह अहिले यूएईको आईएल टी–२० मा एमआई इमिरेट्सका प्रशिक्षक छन् । उनकै प्रशिक्षणमा एमआईले २०२४ मा आईएल टी–२० उपाधि जितेको थियो ।
What you should know
काठमाडौँ — भारतका पूर्व अलराउन्डर रोबिन सिंह नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको मेन्टरमा नियुक्त भएका छन् । लायन्सले बिहीबार समाजिक सञ्जालमार्फत सिंहलाई आबद्ध गरेको घोषणा गरेको हो ।
सिंहले भारतबाट १ टेस्ट, १ सय ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यसपछि उनी हङकङ, यूएई र अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षक रहे । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लामो समय मुम्बई इन्डियन्ससँग आबद्ध थिए, जहाँ उनले ५ पटक आईपीएल उपाधि र एक पटक च्याम्पियन्स लिगको उपाधि जिते ।
सन् २००८ मा भएको पहिलो आईपीएलमा उनी डेक्कन चार्जसका प्रशिक्षक थिए । २००९ मा उनी भारतको फिल्डिङ प्रशिक्षक र मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक बने । त्यसको अर्को वर्ष उनी मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक भए । उनी प्रशिक्षक भएको पहिलो वर्ष मुम्बई पहिलो पटक आईपीएलको फाइनल पुगेको थियो । उनी प्रशिक्षण टोलीमा हुँदा मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएल उपाधिजितेको थियो ।
६२ वर्षे सिंह अहिले यूएईको आईएल टी–२० मा एमआई इमिरेट्सका प्रशिक्षक छन् । उनकै प्रशिक्षणमा एमआईले २०२४ मा आईएल टी–२० उपाधि जितेको थियो । आईएल टी–२० को आउँदो सिजन डिसेम्बर २ देखि हुँदै छ । त्यसैले उनी एनपीएलको समूह चरणको अन्त्यमा लुम्बिनी छाडेर दुबई जाने सम्भावना छ ।
नेपाली टोलीका पूर्व कन्सल्ट्यान्ट प्रशिक्षक नन्दन फडानिसको प्रशिक्षणमा लुम्बिनी पहिलो सिजनको एनपीएलमा पुछारमा थियो । सिंहलाई मेन्टरको जिम्मा दिएको लुम्बिनीले मुख्य प्रशिक्षक पनि राख्न बाँकी छ ।
