प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित २५ वडा गरी २६ टोलीको सहभागिता रहनेछ।
काठमाडौँ — सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा कात्तिक २२ देखि २९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित २५ वडा गरी २६ टोलीको सहभागिता रहनेछ। उद्घाटन खेल काठमाडौँ महानगरपालिका र आयोजक वडा २३ बीच हुनेछ।
आयोजक वडा २३ ले बिहीबार सहभागी टोलीहरूलाई बोलाएर खेल तालिका ड्र गरेको थियो।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टोलीलाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिनेछ। उपविजेता टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछ। विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकप्रत्येकलाई १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ।
पहिलो संस्करणमा वडा नं १४, र दोस्रो संस्करणमा वडा नं १६ ले उपाधि जितेका थिए।
