लिभरपुलका पूर्व खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड एनफिल्ड फर्केका थिए । उनी क्लबको एकेडेमीका खेलाडी हुन् । यही खेलमा लिभरपुलका पूर्व खेलाडी रहेका जाभी अलोन्सो पनि प्रशिक्षक हुँदै एनफिल्ड फर्केका छन् ।
पेरिस — एलेक्स म्याक एलिस्टरले गरेको एकमात्र गोलमा लिभरपुलले युरोपेली च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति रियल म्याड्रिडलाई १–० ले हराएको छ । जितपछि कप्तान भर्जिल भान डाइकले आफ्ना खेलाडीलाई धेरै उत्साहित नहुन सुझाए । उनले भने, ‘लगातार दुई खेल जितेपछि केही सजिलो भएको छ, तर सबै संयमित रहनुपर्नेछ ।’
यही खेलका लागि लिभरपुलका पूर्व खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड एनफिल्ड फर्केका थिए । उनी क्लबको एकेडेमीका खेलाडी हुन् । यही खेलमा लिभरपुलका पूर्व खेलाडी रहेका जाभी अलोन्सो पनि प्रशिक्षक हुँदै एनफिल्ड फर्केका छन् । उनी आएयता रियल २० खेलमा पराजित भएको दोस्रोपल्ट हो ।
जाभीले हारमा धेरै दुःख मनाएनन् । उनले भने, ‘टिमबारे धेरै कुरा गर्न छैन, यो लिग चरणको खेलमात्र हो, हामी सम्हालिन सक्षम छौं । हामी पराजित रह्यौं, किनभने हामी आक्रमणमा कमजोर भयौं ।’ यसअघि लिभरपुल सबै खाले प्रतियोगिताका आठमध्ये ६ खेलमा पराजित भएको थियो । तर, इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई हराएपछि यो क्रम रोकिएको हो ।
रियलका लागि गोलरक्षक थिओ कोट्वाले शृंखलाबद्ध बचाउ गरेर छपल्टको च्याम्पियन लिभरपुललाई साँघुरो जितमा रोकेका थिए । ‘कोट्वा कति राम्रा खेलाडी हुन्, त्यो सबैलाई थाहा छ । तर यो दिन हाम्रो राम्रो भयौं, त्यसैले जितको हकदार भयौं,’ एलिस्टरले खेलको विश्लेषण गर्दै भनेका छन् । लुइस डियाजले दुई गोल गरेपछि बायर्न म्युनिखले भने डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्यो ।
इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले भने स्लाभिया प्रागलाई ३–० ले हरायो । त्यसमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका म्याक्स डाउमन यो प्रतियोगिता खेल्ने इतिहासकै सबैभन्दा कान्छा खेलाडी बने । उनले यो उपलब्धि १५ वर्ष ३ सय ८ दिनमा पाएका हुन् । बायर्न तथा आर्सनल अंकतालिकाको शीर्ष दुई स्थानमा छन् ।
बायर्न प्रशिक्षक भिन्सेन्ट कोम्पनीले भने, ‘यो निकै महत्त्वपूर्ण ३ अंक हो । सबैलाई के पनि थाहा छ भने अहिले नै कसैले च्याम्पियन्स लिगको उपाधि जित्ने छैन ।’ बायर्नका दुई गोलका नायक डियाज मैदानमा पहिलो हाफ मात्र टिके । अचरफ हकिमीमाथि गरेको डरलाग्दो ‘ट्याकल’ का लागि रातो कार्ड खाएर उनी मैदान छाड्न बाध्य रहे । आर्सनलका लागि मिखेल मेरिनाले दुई गोल गरे र उनी पनि जितपछि स्वाभाविक रूपमा खुसी देखिए ।
एट्लेटिको म्याड्रिडले युनियन सेन्ट गिलोसलाई ३–१ र टोटनहमले कोपनहेगनलाई ४–० ले हराए । इटालीको च्याम्पियन नेपोलीले इन्ट्राख्ट फ्रान्कफर्टले ०–०, युभेन्ट्स र स्पोर्टिङ लिस्बनले १–१ तथा ओलम्पियाकोस र पीएसजी आयनहोभनले १–१ को बराबरी खेले ।
